
सरकारले लागूू गरेको लक–डाउन आदेशको पश्चिम नवलपरासीमा अवज्ञा भएको छ ।
प्रहरी प्रशासनले प्रभावकारी कार्यान्वयन नगर्दा यसको अवज्ञा बढेको हो ।
लक–डाउनको अवज्ञा गर्दै शनिवार परासीमा साप्ताहिक हाटबजार लागेको छ । हाटबजारमा तरकारीदेखि दैनिक उपभोग्य सामाग्री किन्ने ग्राहकको घुँइचो थियो ।
प्रशासनले भने तरकारी किन्नको लागि सहज बनाइएको तर हाटबजार नै लाग्न भने नदिइएको बताएको छ । ‘प्रमुख चोकमा तरकारी पसल राख्दा भीड भयो भनेर नगरपालिकाले हाटबजार क्षेत्रमै व्यस्थित गराउन भन्दै दुरी कायम गर्ने रेखासमेत कोरेको थियो । एकाएक भीड भएछ,’ प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने ।
उनले जिल्लामा लक–डाउनको पूर्णपालना भएको र उल्लघंन गर्नेलाई कारबाही गर्ने दाबी गरे । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले प्रहरी प्रशासनको असहयोगका कारण नगर क्षेत्रमा लक–डाउन कार्यान्वयनमा समस्या देखिएको बताए ।
‘हामीसँग प्रहरी छैनन् । सार्वजनिक सूचना निकालेर सचेत गराएका छौं । प्रहरी प्रशासनलाई भन्दा वास्ता गर्दैन,’ गुप्ताले भने, ‘मैले हाटबजार हटाउन भने उल्टै प्रहरीले नगर क्षेत्रमा छर्किर्दै गरेको किटनाशक औषधिको फोहोरा लगेर हान्दिनुस् भागी हाल्छन् भन्ने गैरजिम्मेवारी प्रतिक्रिया आउँछ । मैले के गरु ?’
भीडभाड नगर्ने र धेरै संख्यामा हिँडडुल नगर्न आह्वान गरिएपनि सदरमुकाममा भने त्यसको पूर्णपालना हुन सकेको छैन ।