
भारतको तमिलनाडुमा क्वारेन्टाइनमा बसिरहेका एक युवक अचानक घरबाट नांगै बाहिर दौडिएर टोलकी ८० वर्षीया एक महिलालाई टोक्न पुगेका छन् ।
श्रीलंकाबाट फर्केर होम क्वारेन्टाइनमा बसेका ती युवकले अनौठो हर्कत गरेको प्रहरीले शनिवार जनाएको छ ।
महिलालाई घाँटीमा गम्भीर घाउचोट लागेकाले शुक्रवार अबेर राति अस्पताल भर्ना गरिएको तर उपचारकै क्रममा शनिवार मृत्यु भएको प्रहरीको कथन छ ।
जक्कामानायाकानपट्टी नामक गाउँमा बस्ने ती युवक कपडाको व्यापार गर्छन् । उनलाई गाउँलेहरू कर्यापझ्याप पारेर प्रहरीसमक्ष बुझाएका थिए । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
शुक्रवार राति अचानक उनको मानसिक स्थिति बिग्रियो अनि उनी पूरै नांगिए र सडकमा दौडिन थाले ।
स्तब्ध भएका परिवारका सदस्य उनका पछिपछि दौडिए ।
ती युवकले नाचियम्माल नामक महिलालाई घरको आँगनमा बसिरहेको देखेपछि उनको घाँटीमा बेस्सरी टोकेको थिए ।
त्यसपछि युवकका परिवारका मानिसले उनलाई समाते अनि महिलालाई बोडी सरकारी अस्पतालमा भर्ना गरे । महिलाको मृत्यु शनिवार भएको हो । स्वास्थ्य अधिकारीहरूले यसमा टिप्पणी गरेका छैनन् ।