
बेलायतका कारागारमा कोभिड–१९ को लक्षण देखिएका कैदीहरूलाई भाइरस पोजिटिभ भएका कैदीहरूसँग एउटै कक्षमा राखिएको द गार्डियन पत्रिकाले खबर दिएको छ ।
यसले गर्दा सामान्य रुघाखोकी लागेका कैदीलाई कोरोनाभाइरस लाग्ने सम्भावना बढेर गएको छ ।
अघिल्लो बिहीवार र शुक्रवार दक्षिणपश्चिम लन्डनको वान्ड्सवर्थ कारागारका १२ कैदीमा कोरोनाभाइरस देखिएको थियो र उनीहरूलाई आइसोलेसन कक्षमा राखिएको थियो ।
अरू ४० कैदीमा खोकी र श्वासप्रश्वासको समस्या देखियो अनि तिनीहरूलाई पनि कोरोना संक्रमितसँगै राखिएको छ । आइसोलेसनमा बसेका सबै कैदीलाई एउटै कक्षमा राखिएको छ । उनीहरूलाई खाना दिने गरिएको छ र नुहाउन दिइएको छैन ।
वान्ड्सवर्थ कारागारमा रहेको एक स्रोतले द गार्डियनलाई बताएअनुसार, कारागारमा थप स्वास्थ्य परीक्षणको कुनै योजना छैन र लक्षण देखिएका कैदीहरूलाई आइसोलेसन विंगमा राखिएको छ । स्रोतका अनुसार, ५२ जना कैदीलाई संक्रमित भनी वर्गीकृत गरिएको छ ।
अनि डी विंगका कैदीलाई एक हप्तादेखि तातोपानी समेत दिइएको छैन ।
यसैबीच सरकारले गर्भवती कैदीहरूलाई थुनामुक्त गर्न खोजिरहेको छ । तिनमा कोरोनाभाइरस सर्ने खतरा रहेकाले थुनामुक्त गरिन लागेको हो ।
तर सरकारले कम जोखिममा रहेका कैदीहरूलाई व्यापक मात्रामा थुनामुक्त चाहिँ नगर्ने देखिएको छ ।