
नेपाल कम्युनिष्ट पार्टी नेकपा वीरेन्द्रनगर नगर कमिटिले कोरोना रोगसँग कटिबद्ध भई लडिरहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच गर्दा आवश्यक पर्ने सामाग्री तत्काल उपलब्ध गराउन सरकारलाइ आग्रह गरेको छ ।
नगर कमिटि अध्यक्ष गंगाराम तिमिल्सेना र सचिव गणेश बहादुर वलीले संयुक्त रुपमा गरेको हस्ताक्षरित विज्ञप्तीमा वास्तविक रुपमा पीडित भएकाहरुलाई मात्रै राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
‘सबै तहका सरकारहरुले नागरिकहरुका लागि विभिन्न प्रकारका राहत पुर्याउने कामहरु गरेका छन् । त्यसलाई व्यवस्थित तथा एकद्धार प्रणालीबाट, स्थानीय सरकार तथा जनप्रतिनिधिको रोहवरमा दैनिक छाक टार्न समस्या हुने श्रमिक तथा मजदुरहरुलाई वास्तविक पीडित र समस्यामा परेका व्यक्ति तथा परिवारकहाँ पुग्ने गरी वितरण गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा विशेषगरी स्वास्थ्यकर्मीहरुलाई आवश्यक औजार तथा उपकरणहरुको व्यवस्थापन गरी कोरोना भाइरसको परिक्षण तथा उपचार गर्ने व्यवस्था मिलाउन शासन तथा प्रशासनमा बसेका व्यक्तिहरुसँग जोडदार माग गरिएको छ । विज्ञप्तिमा अहिले निर्माण भएको परिस्थितिको गम्भिरतापूर्वक सामाना गर्दै अघि बढन सम्पूर्ण नगरवासीमा आग्रहसमेत गरिएको छ ।
