
काठमाडौं ८ वैशाख - आन्दोलनरत मधेसी मोर्चा र सरकारबीच वैशाख ३१ गतेको निर्वाचनमा सहमतिको प्रयास स्वरुप शुक्रवार पुनः छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु बार्तामा सहमतिका लागि प्रयास गरिने माओवादी नेता बर्षमान पुनले जानकारी दिए ।
शुक्रवार बिहान भएको छलफलमा मोर्चाले परिमार्जन सहित संविधान संशोधन विधेयक पारित गरे निर्वाचनमा सहभागि हुने संकेत गरेको थियो । मोर्चाको सकारात्मक संकेत पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउसो सत्तारुढ दलका नेतासंग परामर्श गरेका थिए । मोर्चासंग सहमति भए आइतवार बस्ने संसद बैठकमा संविधान संशोधन विधेयक टेबल गर्ने सरकारको तयारी छ । यसअघि मोर्चाका माग सम्बोधन गर्न भन्दै सरकारले गतसाता संविधान संशोधनको नयाँ विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो ।