१० साउन २०८३, आइतबार

धनगढीमा कोरोना जाँच ल्यावको जडान शुरू, परिक्षण रिपोर्ट १ घण्टामै

चैत १९, २०७६
धनगढीमा कोरोना जाँच ल्यावको जडान शुरू, परिक्षण रिपोर्ट १ घण्टामै

धनगढी, १९ चैत । कोरोना भाइरस (कोभिड १९) जाँच गर्ने मेसिनसहित धनगढी पुगेको विशेषज्ञ टोलीले बुधवारदेखि काम शुरू गरेको छ ।

मंगलबार साँझ मेसिन, किट, रेजेन्ट (केमिकल)सहित धनगढी पुगेको सो टोलीले जडानको काम शुरू गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको लागि आएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले सेती प्रादेशिक अस्पतालका प्राविधिकहरुको सहकार्यमा कोरोना भाइरस परिक्षण गर्ने रियल टाइम पीसीआर मेसिन जडान शुरू गरिएको जानकारी दिए । मेसिन जडान कार्य सकिएपछि आज साँझदेखि नै नमूना परिक्षण गर्न सकिने मोलिकुलर माइक्रोबायोलोजिस्ट लेखकले बताए ।

उनले भने,‘आज हामीले ल्याएको मेसिन यहाँको ल्याबमा सेटअप गर्छौ । रन गरेर भ्यालीडेट गर्नुपर्छ । त्यसको लागि छुट्टै सानो ल्याब बनाउनुपर्ने हुन्छ । आज भ्यालीडेसनको काम चाँडै सकियो भने, आज साँझ नै एक लट परिक्षणको काम गर्न सक्छौ । भ्यालीडेटमा ढिला भयो भने, भोलिदेखि नै परिक्षण शुरू गर्छौ ।’

जुन मेसिनबाट १ घण्टामै कोरोना जाँचको रिजल्ट दिन सक्ने बताइएको छ । ‘हामीले विरामीको नाक वा घाँटीको पछाडीबाट स्वाब लिन्छौ । स्वाबबाट भाइरसको आरएनए अर्थात भाइरसको जेनेटिक अवशेष निकाल्छौ । त्यसलाई मेसिनमा राखेर छ, कि छैन भनेर हेरिन्छ । १ घण्टा ५ सकेण्डमा रिजल्ट आउँछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाइएको यो मेसिनबाट काम थालिएपछि कोरोना परिक्षणको लागि काठमाडौं नै धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । हालसम्म नमूना संकलन गरेर काठमाडौं पठाउने गरिएको थियो । जसको रिपार्ट आउन एक हप्तासम्म समय लाग्ने गरेको थियो ।

यो संगै सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश आपूर्ति व्यवस्थापन समितिले कोराना जाँच मेसिनको खरिद प्रक्रिया पनि अगाडी बढाएको छ । टेण्डर छनौटको कार्य मंगलबार नै सकिएकोले आपूर्तिकर्ताले केही दिनभित्रै मेसिन आयात गरी सक्ने र परिक्षणको कार्य पनि चाँडै नै शुरू गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्