
संसारभरि कोरोनाभाइरसको संक्रमण फैलिरहँदा इटलीमा यसको कहर अन्तको भन्दा बढी देखिएको छ ।
केही विज्ञहरूले इटलीमा महाव्याधिको सामनाका लागि समयमा नै उपाय नअपनाइएकाले मृत्युदर उच्च भएको बताएका छन् ।
फेब्रुअरी २० मा पहिलो ज्यान गएदेखि इटलीमा कोरोनाले १३ हजार १५५ जनाको ज्यान लिइसकेको छ । त्यहाँ १ लाख १० हजार ५७४ वटा केस छन् र मृत्युदर ११.९ प्रतिशत छ । अन्य देशको तुलनामा यो निकै बढी हो ।
विश्व स्वास्थ्य संगठनको आँकडाले पनि प्रति १० लाख मानिसमा २१८ जनाको मृत्यु भएको देखाउँछ ।
प्रत्येक राति सिभिल प्रोटेक्सनका अधिकारीहरूले नयाँ संक्रमण, निको भएका बिरामी र मृत्यु भएकाहरूको पछिल्लो आँकडा प्रस्तुत गर्ने गरेका छन् । इटलीमा भाइरसले किन यति धेरै तबाही मच्चाएको हो भन्ने विषयमा स्थानीय सञ्चारमाध्यमले अनेकथरी सिद्धान्त प्रतिपादन गरेका छन् ।
‘सघन उपचार गराइरहेका मानिसबाहेक हामीले दिनदिनै हेर्ने आँकडाहरू सही छैनन्,’ सान्तागोस्तिनो मेडिकल सेन्टरका जनरल म्यानेजर लुका फोरेस्तीले बताए । ‘गलत सूचना दिने उद्देश्य हैन । यहाँको स्वास्थ्य जाँच प्रणाली आधाअधुरो छ ।’
‘लक्षण देखिएका वा नदेखिएका सबै मानिसलाई एउटै किसिमले स्वास्थ्य जाँच गरेमा बिरामीको सही संख्या निकाल्न सकिन्छ,’ उनले भने । ‘तर सरकारले लक्षण भएका मानिस वा संक्रमितसँग नजिक भएका मानिसको मात्र परीक्षण गरिरहेको छ ।’
‘अनि इटलीमा स्वास्थ्य परीक्षण प्रक्रिया र तथ्यांकगत लेखा क्षेत्रै भिन्न भिन्न छ,’ फोरेस्टीले भने ।
तथ्यांक कम्पनी स्ट्याटिस्टिकाले संकलन गरेको सूचना अनुसार, ५ करोड ९० लाख जनसंख्या भएको इटलीमा मंगलवारसम्म ५ लाखभन्दा केही बढी मात्र परीक्षण गरिएका छन् । अर्थात् १ प्रतिशतभन्दा कम मानिसको स्वास्थ्य परीक्षण गरिएको छ र परीक्षण गरिएकामध्ये २० प्रतिशत जतिमा संक्रमण भेटिएको छ ।
परीक्षण नगरिएका धेरैजसोमा कोरोनाभाइरसका हलुका लक्षण देखिएको वा लक्षणै नदेखिएको हुन सक्ने, फोरेस्टी र अन्य विश्लेषकहरूले बताए ।
सिभिल प्रोटेक्सन अधिकारीहरूले अर्को प्रश्न पनि उठाइरहेका छन् । अस्पतालमा कोरोनाभाइरसका बिरामी खचाखच भरिएपछि अस्पतालमा उपचार गराउन आउनुअघि नै मृत्यु भएकाहरूलाई भाइरसले मृत्यु गराएको भनी गणना गर्न मिल्छ ?
आधिकारिक तथ्यांक अनुसार, संसारभरिका कोरोनाभाइरस केसमध्ये १० प्रतिशतभन्दा केही बढी त इटलीमै छन् जबकि इटलीको जनसंख्या विश्व जनसंख्याको १ प्रतिशत पनि छैन ।
फाब्रिजियो प्रग्लिआस्को मिलान विश्वविद्यालयको डिपार्टमेन्ट अफ बायोमेडिकल सायन्सेज फर हेल्थका रिसर्च फेलो हुन् ।
उनले भने, ‘फ्रान्स, जर्मनी, अमेरिका तथा अन्य देशमा भन्दा पहिले इटलीमा भाइरस फैलियो । हामीहरू दुई हप्ताअघि जस्तो स्थितिमा थियौं, यी देशहरू अहिले त्यो स्थितिमा छन् ।’
सिन्ह्वाबाट