१९ असार २०८३, शुक्रबार

कोरोनाको त्रासबीच धमाधम काम, चिनियाँसहित १५० मजदुरलाई छैन लकडाउनको आराम

चैत २४, २०७६
कोरोनाको त्रासबीच धमाधम काम, चिनियाँसहित १५० मजदुरलाई छैन लकडाउनको आराम

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि देश २ सातादेखि जारी लकडाउनका कारण ठप्प छ ।

तर रुपन्देहीको भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई कोरोनाले छोएको छैन ।

आयोजनाको काम लकडाउनमा पनि जारी छ । आयोजना प्रमुख प्रवेश अधिकारीले क्याम्पभित्रै बस्ने मजुदरले काम गरिरहेको बताए ।

‘हाम्रो कामलाई कोरोना भाइरसले छोएको छैन,’ अधिकारीले लोकान्तरसँग भने, ‘हामीकहाँ २८ जना चिनियाँ कामदारसहित १५० जना कामदारले काम गरिरहेका छन् । यहाँ काम गर्ने धेरै जना क्याम्पमै बस्ने छन् । २–४ जना नजिकैका छन् । उनीहरू हिँडेर नै आउँछन् । हाम्रो बाहिरी मानिससँग सम्पर्क छैन ।’

विमानस्थलमा पुरानो धावनमार्ग लाइट जडान, टर्मिनल भवनको फिनिसिङ, सेन्ट्रल एसी जडान, टायल लगाउने र तरबारको काम भइरहेको छ । अधिकारीले भने, ‘हामीले प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुखसँग नै समन्वय गरेर काम गरिरहेका हौं । बाहिरबाट सामान ल्याउन गाह्रो छ । आइसकेका सामानको जडान रोकिएको छैन ।’

विमानस्थलका लागि अहिले नदीजन्य पदार्थ (ढुंगा, गिट्टी र बालुवा), हार्डवेयर र समस्या छ । गाडी नचल्दा अहिले ती सामग्रीहरु ल्याउन समस्या छ । हालसम्म विमानस्थल निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । 

गत डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको कोराना भाइरसका कारण घर गएका धेरै कामदार आउन पाएनन् । चीन गएका जम्मा ७ जना मात्र कामदार फर्किए अन्य आउन पाएनन् । सन् २०१५ बाट निर्माण शुरू भएको विमानस्थल निर्माणको काम पटक–पटक थपेर गत मार्च ३१ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

अझै १० प्रतिशत काम कोरोना भाइरसको सन्त्रास हटेर वातावरण सामान्य भएपछि पनि कम्तीमा ३ महिना लाग्ने देखिन्छ । अधिकारीले पनि कोरोनाको अवस्था हेरेर म्याद थप हुने बताए । नाकाबन्दी, भूकम्पले गर्दा निर्माणमा अप्ठ्यारो अवस्थामा पुगेको विमानस्थल तत्कालीन स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीको विशेष पहलपछि गति लिएको थियो । बहालवाला पर्यटनमन्त्री योगेश भट्टराईले पनि समय–समयमा निरीक्षण गरेर विमानस्थल निर्माणमा चासो दिएका छन् । गौतमबुद्ध विमानस्थल निर्माणको लागत ६ अर्ब ८२ करोड रुपैयाँ छ । यो रकम जग्गा अधिग्रहण बाहेकको रकम हो ।

विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते विमानस्थलको शिलान्यास गरेका थिए । 

विमानस्थलको आन्तरिक खपतका लागि १० मेघावाट सौर्य ऊर्जा निकाल्न करीब १ अर्ब लगानी लाग्ने अनुमान छ ।  सन् २०१४ नोभेम्बर १३ मा ८५ दशमलव ५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनसँग आईसीबी १ नम्बर परियोजनाका लागि ७८ दशमलव ३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो ।

विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी काम अगाडि बढाइएको छ । अधिकारीका अनुसार एडीबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको छ । विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको अधिकारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्