
जिल्ला कारागार कैलालीबाट ३ जना कैदीबन्दी कैद मिनाहा भई घर फर्केका छन् ।
कोरोना भाइरस जोखिम रोकथाम तथा नियन्त्रणका लागि चैत्र ७ गते सर्वोच्च अदालतको पूर्ण बैठकबाट कैदीबन्दीको कैद मिनाहा गर्ने निर्णय गरिएको थियो ।
सोही निर्णयपछि कैदीबन्दीहरु निवेदनसहित जिल्ला अदालतमा उपस्थित भई तोकिएको जरिवाना भुक्तान गरी रिहा हुन लागेका हुन् ।
जिल्ला कारागार कैलालीका प्रमुख महेन्द्र खड्का अनुसार कैलाली जिल्लाको साविक उर्मा गाविस–७ का चन्द्रदेव ढुंगाना रिहा भएका छन् । विना इजाजत वन पैदावर हटाएको अभियोगमा उनी २०७६ माघ २७ गतेदेखि कैद भुक्तान गरिरहेका थिए ।
धनगढी उममहानगरपालिका–३ का प्रशान्त कार्की पनि रिहा भएका छन् । उनी चोरी मुद्दामा २०७६ जेठ १२ गते पक्राउ परेका थिए । कैलालीको लम्कीचुहा नगरपालिका–१ की मीना जैसी पनि सर्वोच्चको निर्णयपछि रिहा भएकी छिन् । बहुविवाह मुद्दाको अभियोगमा जेल सजाय भोगिरहेकी उनी २०७६ जेठ २४ गते पक्राउ परेकी थिइन् ।
सजाय भुक्तान गर्न बाँकी दिनको प्रतिदिन ३०० रुपैयाँका दरले जरिवाना भुक्तान गरी उनीहरू रिहा भएका हुन् । अझै ७ जना कैदीबन्दी मिनाहाको प्रक्रियामा रहेको कारागार प्रमुख खड्काले जानकारी दिए ।
सर्वोच्चले मातहतका सबै अदालतलाई परिपत्र गर्दै १ वर्षसम्म कैद सजाय ठहर भएका र कैद सजाय काटिरहेका कैदीबन्दीलाई रिहाइ गर्न आदेश दिएपछि कैदीबन्दी रिहा हुन लागेका छन् ।
कैलाली कारागरमा १५० जना कैदीबन्दी राख्ने क्षमता रहेको छ तर अझै ४५५ जना कैदीबन्दी कैद भुक्तान गरिरहेका छन् ।
कोरोना भाइरसको संक्रमण नबढोस् भन्ने उद्देश्यले जेलमा कैद भुक्तान गरिरहेका कैदीबन्दीसँग बाह्य भेटघाटलाई भने पूर्णरुपमा बन्द गरिएको छ तर कारागारमा क्षमता बढी कैदी राखिएकाले संक्रमणको जोमिख पनि उत्तिकै छ ।
पर्याप्त भौतिक संरचना नहुँदा कैलाली कारागारभित्रै कैदीबन्दी राख्नलाई १० वटा टहरा बनाइएको छ । जुन टहराभित्र १६० जना कैदीबन्दीलाई राखिएको छ ।