
पाकिस्तान क्रिकेट टीमका पूर्व कप्तान शाहिद अफ्रिदीले पाकिस्तानमा रहेका हिन्दूहरूलाइृ सहयोग गरेका छन् । उनले हिन्दू समुदायलाई पीठो, चामल र अन्य जरूरी सामग्री दिएर सहयोग गरेका हुन् ।
अफ्रिदीले उनीहरूलाई नगद सहयोग पनि गरेका छन् ।
एक हिन्दू टेनिस खेलाडीले पाकिस्तानमा अल्पसंख्यकलाई परिरहेको समस्यातर्फ ध्यानाकर्षण गराएपछि अफ्रिदीले सहयोग गर्न थालेका हुन् ।
एउटा बयान जारी गरेर अन्तर्राष्ट्रिय टेनिस खेलाडी रोसबन दासले शाहिद अफ्रिदी फाउन्डेसनसँग शहरमा भएका अल्पसंख्यकलाई सहायता गर्न अपील गरेका थिए ।
कराची स्पोर्ट्स फोरमका सचिव आसिफ अजीमले भने, ‘जहांगिर खान यस फाउन्डेसनका अध्यक्ष हुन् । उनले मलाई फोन गरे अनि दासको बयानका बारेमा कुरा गरे । यस अप्ठ्यारो समयमा अल्पसंख्यक समुदायका सदस्यलाई सहायता गर्नुपर्ने उनले भने । क्रिस्चियन र हिन्दूलाई सहयोग गर्नुपर्छ भने ।’
शाहिद अफ्रिदी फाउन्डेसनले कराची स्पोर्ट्स फोरमसँग मिलेर शहरका गरीबहरूलाई खानेकुरा र नगद उपलब्ध गराएको हो ।