
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरापालक किसानले १० दिनमा कराडौंको नोक्सानी व्यहोरेका छन् ।
दैनिक रुपमा कुखुरापालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौंको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
‘लकडाउनको पहिलो साता साना, मझौला र ठूला बोइलर पालक किसानले करीब १० लाख कुखुरा मासुका लागि तयार गरेका थिए,’ सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत हेमराज अवस्थीले भने, ‘कुखुराका लागि दाना, औषधि लगायत सबै प्रभावित हुँदा किसानले क्षति व्यहोर्नुपर्यो ।’
मन्त्रालयले १ हप्ता समय लगाएर लकडाउनमा सुदूरपश्चिममा कृषि क्षेत्रमा भएको नोक्सानी पर्यवेक्षण गरेर संघीय कृषि मन्त्रालयमा समेत प्रतिवेदन पठाइसकेको छ । ‘प्रदेशभर कुखुराका लागि दैनिक २० टन दाना चाहिन्थ्यो,’ वरिष्ठ पशु विकास अधिकृत अवस्थीले रासससित भने, ‘शुरूमा आहार नपाउने भएपछि ५० हजार कुखुरा खाल्डोमा पुरेर नष्टसमेत गर्ने अवस्था आयो ।’ उनले लकडाउन लम्बिएसँगै कुखुरा पालक किसानको नोक्सानीको दायरासमेत बढ्दै जाने बताए ।
सुदूरपश्चिममा अण्डा उत्पादनका लागि किसानले २० लाख लेयर्स जातको कुखुरा पालेका छन् । ‘लकडाउनले अण्डा उत्पादनसमेत बन्द भयो,’ अवस्थीले भने, ‘अहिले दैनिक २० लाख अण्डा नष्ट हुँदैछ ।’
सुदूरपश्चिममा दैनिक २ लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको थियो । ‘अण्डाको बिक्री वितरणका लागि सहजीकरण पनि गर्यौं,’ अवस्थीले भने, ‘अरू विविध कारणले स्थानीय उत्पादन बिक्री भएन ।’
सरकारले कुखुरापालक किसानका लागि लकडाउनमा दाना ओसारपसारमा सहजीकरण गर्ने भने पनि किसानले सहज रुपमा दाना नपाएको समेत गुनासो गरेका छन् । ‘यहाँ ८० प्रतिशत भारतबाट कच्चा पदार्थ आएर दाना उत्पादन हुन्थ्यो,’ उनले भने, ‘भारतबाट नआउँदा यहाँ अन्य ठाउँबाट ल्याउनेले महंगो र नगदमा मात्रै दाना दिने भनेपछि थप समस्या किसानमा पर्यो ।’