कोरोनाभाइरसको कहरका कारण अमेरिका अहिले आक्रान्त छ । त्यहाँ १४ हजार ७९७ जनाको मृत्यु भइसकेको छ ।
अनि कोरोना संक्रमण रोक्न लगाइएको लकडाउनका कारण मानिसहरूको जागिर खोसिएको छ । जागिर नभएपछि खानैको धौधौ परेर मानिसहरू फूड बैंकमा निर्भर हुन थालेका छन् ।
पेन्सिल्भेनिया राज्यमा रहेको फूड प्यान्ट्रीमा सामान्यतया दिनको १०० जनालाई खाना दिइन्छ । तर अहिले त्यहाँ दिनकै ९०० जना पुग्ने गरेका छन् । यही परिस्थिति अमेरिकाको वाशिङटन तथा अन्य राज्यमा पनि देखिएको छ ।
धेरै भीड भएपछि खानाको प्याकेट सही तरिकाले प्याक गर्न र वितरण गर्न नेसनल गार्ड बोलाउनुपरेको छ ।
फूड बैंकहरू अहिले समस्यामा परेका छन् । मानिसहरूले खाना कम दान गरिरहेका छन् अनि स्वयंसेवी पनि भेटिन छोडेका छन् ।
समस्या परेपछि नेसनल गार्डलाई बोलाइएको छ । उनीहरूले फूड बैंकलाई सुरक्षा दिइरहेका छन् ।
फूड बैंकले संकटमा परेका अमेरिकीहरूलाई प्याकेटमा चिकन नूडल सूप, टुना फिश, पोर्क र बीन्स दिइरहेको छ ।
ग्रेटर बेटन फूड बैंकका अधिकारी माइक म्यानिङले आफ्नो १६ वर्षे करीयरमा यति ठूलो भीड कहिल्यै नआएको बताए ।
फूड बैंकका अगाडि कारहरूको लामो लाइन लागेको छ । फूड बैंकलाई पैसाको अभावले पनि सताइरहेको छ ।