१२ असार २०८३, शुक्रबार

कास्कीका क्वारेन्टाइनमा १४ दिन बसेकाहरू सुरक्षित

चैत २७, २०७६
कास्कीका क्वारेन्टाइनमा १४ दिन बसेकाहरू सुरक्षित
प्रतिकात्मक तस्वीर

कास्की जिल्लाका विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसेकामध्ये ३६ जना १४ दिनको बसाइँ टुंगाउँदै घर फर्किएका छन् ।

पटक–पटकको परीक्षणमा कोरोना नभएको अर्थात ‘नेगेटिभ’ रिपोर्ट आएपछि घर पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

भारत लगायत विभिन्न मुलुकबाट जिल्ला फर्किएकामध्ये १४ जना पोखरा–५ मालेपाटनस्थित कृषि तालिम केन्द्र र २० जना रुपा गाउँपालिकामा निर्मित क्वारेन्टाइनमा बसेका थिए । विभिन्न चरणमा गरी हालसम्म ३६ जनालाई घर पठाइएको हो । 

प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘उनीहरूको ल्याब टेस्टमा नेगेटिभ रिपोर्ट आएकोले कोरोनाको संक्रमण नदेखिएपछि सुरक्षित घर पठाइएको हो । क्वारेन्टाइनमा बसेका अन्यको पनि क्रमशः ल्याब टेस्ट हुनेछ ।’ क्वारेन्टाइनबाट घर फर्किएकालाई १ हप्ताका लागि होम क्वारेन्टाइन बस्न आग्रह गरिएको छ । 

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धौलागिरी अञ्चल अस्पताल, बागलुङमा उपचार गराइरहेकी १९ वर्षीय अंशु सापकोटालाई फोन गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्रीले कुराकानीमा भनेका छन्, ‘मन दह्रो पार्नु । केही पनि हुँदैन । नियमित तातोपानी सेवन गर्नुहोला । म नियमित रूपमा चिकित्सकसँग कुरा गरिरहेको छु ।’ 

सो क्रममा कोरोना संक्रमित अंशुले चिकित्सकले समेत आफूलाई फोनमार्फत संवाद गरिरहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकी थिइन् ।

बेल्जियमबाट कतार हुँदै काठमाडौंबाट गृहजिल्ला बागलुङ पुगेकी अंशुमा कोरोना संक्रमण देखिएको थियो। उनी राजधानी काठमाडौं बाहिर कोरोना संक्रमित देखापर्ने पहिलो बिरामी हुन् । बागलुङमै अर्की एक वृद्धामा पनि कोरोना संक्रमण देखिएपछि उनको पनि अस्पतालमा उपचार भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोलीले बिहीवारदेखि बागलुङमा र्‍यापिड टेस्टको काम थालनी गरेको बागलुङमा जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्