
कास्की जिल्लाका विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसेकामध्ये ३६ जना १४ दिनको बसाइँ टुंगाउँदै घर फर्किएका छन् ।
पटक–पटकको परीक्षणमा कोरोना नभएको अर्थात ‘नेगेटिभ’ रिपोर्ट आएपछि घर पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
भारत लगायत विभिन्न मुलुकबाट जिल्ला फर्किएकामध्ये १४ जना पोखरा–५ मालेपाटनस्थित कृषि तालिम केन्द्र र २० जना रुपा गाउँपालिकामा निर्मित क्वारेन्टाइनमा बसेका थिए । विभिन्न चरणमा गरी हालसम्म ३६ जनालाई घर पठाइएको हो ।
प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले भने, ‘उनीहरूको ल्याब टेस्टमा नेगेटिभ रिपोर्ट आएकोले कोरोनाको संक्रमण नदेखिएपछि सुरक्षित घर पठाइएको हो । क्वारेन्टाइनमा बसेका अन्यको पनि क्रमशः ल्याब टेस्ट हुनेछ ।’ क्वारेन्टाइनबाट घर फर्किएकालाई १ हप्ताका लागि होम क्वारेन्टाइन बस्न आग्रह गरिएको छ ।
यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धौलागिरी अञ्चल अस्पताल, बागलुङमा उपचार गराइरहेकी १९ वर्षीय अंशु सापकोटालाई फोन गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
मुख्यमन्त्रीले कुराकानीमा भनेका छन्, ‘मन दह्रो पार्नु । केही पनि हुँदैन । नियमित तातोपानी सेवन गर्नुहोला । म नियमित रूपमा चिकित्सकसँग कुरा गरिरहेको छु ।’
सो क्रममा कोरोना संक्रमित अंशुले चिकित्सकले समेत आफूलाई फोनमार्फत संवाद गरिरहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकी थिइन् ।
बेल्जियमबाट कतार हुँदै काठमाडौंबाट गृहजिल्ला बागलुङ पुगेकी अंशुमा कोरोना संक्रमण देखिएको थियो। उनी राजधानी काठमाडौं बाहिर कोरोना संक्रमित देखापर्ने पहिलो बिरामी हुन् । बागलुङमै अर्की एक वृद्धामा पनि कोरोना संक्रमण देखिएपछि उनको पनि अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोलीले बिहीवारदेखि बागलुङमा र्यापिड टेस्टको काम थालनी गरेको बागलुङमा जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौले जानकारी दिए ।