×

बाटो बिराएको राजनीति

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

काठमाडाैं | असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन ।

नेपालमा यस्तो सोच्ने र गर्ने राजनीतिज्ञ कति होलान् ? उत्तर निराशाजनक आउँछ । केही अपवादलाई छाड्ने हो भने यहाँका अधिकांश उच्चपदस्थ राजनीतिक पात्रको भगीरथ प्रयत्न राजकीय ओहोदा दोहन गरेर आफ्नो र आफ्ना सन्ततिको निजी जीवनलाई सुखी र आरामदायी बनाउनेमा हुन्छ । प्रजातन्त्र र लोकतन्त्रका पछिल्ला ३५ वर्षमा हुर्किएको र हुर्काइएको नेपाली राजनीतिको मूल प्रवृत्ति यही हो । यसो भन्दा केही राजनीतिज्ञको टाउको दुख्न सक्छ । तर, आमनेपाली जनताको कटु अनुभूति यही नै हो । कसैको टाउको दुख्यो भनेर मौन बस्नु र सत्यको उजागर नगर्नु सचेत नागरिकको धर्म र कर्तव्य दुवै होइन ।


Advertisment

साँच्चै भन्ने हो भने 'असल व्यक्ति कसैको गुलाम हुन सक्दैन र सही नेता गुलामको मालिक पनि हुन सक्दैन' यो कसैको भनाइ हो । तर, नेपालमा गुलामी र मालिक्याइँ दुवै राम्रोसँग चलेको छ । देशको ढुकुटीमाथि यस्तै प्रवृत्तिको वर्चस्व छ र समाजमा बोलावाला छ । सर्वसाधारण नागरिकको बेहाल छ । उनीहरूको रोदन, चित्कार र गुहार अरण्यरोदन सावित भएको छ । देशका लागि सबै योग्यता भए पनि गुलामीको योग्यता र मालिक्याइँ प्रवृत्ति नभएसम्म अब नेपालका राजनीतिक दल तथा राज्य संयन्त्रमा कसैको केही नचल्ने अवस्था बन्दै गएको देखिन्छ । अब केही प्रवृत्तिको चर्चा गरौं । यो कुनै दलविशेषप्रति लक्षित छैन, समग्र प्रवृत्तिगत विवेचना हो ।


Advertisment

सामन्तवादी प्रवृत्ति 

श्रम र मेहनत नगरिकन बसीबसी खाने वा अरूको पसिनामा ढलिमली गर्ने प्रवृत्ति नै साधारण अर्थमा अहिलेको विकृत सामन्तवाद हो । सामन्तवादको वास्तविक परिभाषा निकै फरक छ । उत्पत्ति र इतिहास निकै पुरानो तथा विषद् छ । आजको बहस यसका सन्दर्भमा होइन । सामन्तवाद एउटा राजनीतिक,आर्थिक र सामाजिक प्रणाली हो, जसको मुख्य तत्व जमिन हो । यो तत्कालीन समयको भूमि वितरण प्रणाली र शासकीय स्वरूप पनि हो । राज्यको सेवा र जागिरबापत तहगतरूपमा जमिन वितरण गर्ने प्रणालीलाई सामन्ती प्रणाली मानिन्छ । अहिले आएर यसको विकृत संस्करण नेपाली समाज र खासगरी नेपालका राजनीतिक दलहरूमा पाइन्छ ।

परम्परागत सामन्तवादमा राजा सर्वोपरि थिए भने अहिले नेता सर्वोपरि छन्, जसका तहगत निजी कामदारहरू छन्, कोही नातेदार र कोही उच्चपदस्थ छन् । यस्ता कामदारले काम गरेबापत जमिनको सट्टामा राजनीतिक पद वा द्रव्य पाउँछन् । यिनीहरूको काम दलका संरचनालाई उत्तेजित वा निस्तेज पार्ने हो । यिनले कतै संरचनागत दायित्व पनि सम्हालेका छन् भने कतै संरचनालाई कज्याएका छन् । नेताको आडमा संस्थाका वैधानिक कार्यलाई सनातनी र कर्मकाण्डी बनाएर दलभित्र निजी प्रभुत्व वृद्धि गर्नु यस्ता कामदारको परम कर्तव्य हो । यसो नगरे उनीहरूको दालरोटी चल्दैन । यस्ता व्यक्ति नेताको इसारामा दलका निष्ठावान सदस्यमाथि अनेक तरहका आक्रमण गर्दछन् ।

आफ्ना कामदारको यही पौरखलाई हेरेर नेता दंग पर्छन् र बेलाबेलामा पुरस्कृत गर्छन् । यतिबेला नेपालका राजनीतिक दलहरूमा यस्तो प्रवृत्ति निर्णायक छ, जसको परिणाम आमनागरिकमा चरम निराशा, अशान्ति र तनाव व्याप्त छ र सम्बन्धित दलको पार्टी प्रणाली पंगु र ध्वस्त छ । निश्चित कामदार खटाएर पार्टी र राज्यको ओहोदा प्राप्त गर्ने योजनामा रहेको नेतृत्व वर्गले दललाई संस्थागतरूपमा अघि बढ्न दिएको छैन । यस प्रवृत्तिले दलको विधानको खिल्ली उडाएको छ भने वैधानिक आयोजनाहरूमा आफ्नो प्रभाव देखाएर अप्राकृतिक नतिजा ल्याएको छ । यस्ता कार्यमा तहगत कामदार खटिएका छन् र साम, दाम, दण्ड, भेद सबै अस्त्रको प्रयोग भएको छ । न्याय, विवेक र निष्ठा दण्डित हुने गरेको छ । राजनीतिमा नैतिकताको खडेरी छ ।

छद्मभेषी चरित्र 

उन्नत र समृद्ध लोकतन्त्रमा सामान्यतया यस्तो हुँदैन, तर नेपालका राजनीतिक दलका नेतालाई के लाग्छ भने मैले जे गरे पनि क्षम्य छ । मेरो दोहोरो चरित्र, गतिविधि र कृयाकलाप कसैलाई थाहा हुँदैन । म जे गर्छु, कसैले ध्यान दिनुहुँदैन र मलाई अनावश्यक सुझाव दिन पनि पाइँदैन । मेरा लागि मद्वारा इच्छित वा मेरा ऐच्छिक गतिविधि वाञ्छित छन् । मैले केवल आदर्श फलाके हुन्छ, तदनुसार क्रियाकलाप गर्नुपर्दैन । दलका सदस्यले मेरो निजी दैनिकी झाँक्न मिल्दैन । एक प्रकारले म जे गर्छु, ठीक गर्छु । सबैले मेरो प्रशस्ति गाउनु पर्छ । यो अधिकांश गरिब देशका धनी नेताको प्रवृत्ति हो । नेपाल यही प्रवृत्तिको सिकार भएको छ । दलका सदस्यलाई घण्टौंघण्टा दैलो कुर्न लगाएर घरभित्र आफ्ना चाटुकारसँग बकम्फुसे गफमा रमाउने नेपालका नेताको दिनचर्या हो । यस्तो दैनिकी र चरित्र भएका नेताले जनतालाई कसरी माया गर्छन् ? देशको सार्वभौमसत्ता, आफ्ना नागरिकको पीडा, लोकतन्त्र र नयाँ पुस्ताको भविष्य नसोच्ने नेता व्यहोर्न आजसम्म हामी सबै नेपाली अभिशप्त छौं ।

न पार्टी सदस्य, न जनता, न देश, न लोकतन्त्र, कसैको पनि चिन्ता नभएको र फगत आफ्नो ओहोदाका लागि मरिहत्ते गर्ने नेता बोकेर कहाँ पुगिएला ? राष्ट्रिय चिन्तन र स्वार्थ नभएको राजनीतिक नेतृत्व भएको देश र समाज कहिले उभो लाग्ने ? आजको मुख्य चिन्ता यही हो । दलको केन्द्रीय समिति, संसदीय दल र संसदमा राष्ट्रिय स्वार्थकेन्द्रित बहस नै हुँदैन । परराष्ट्र सम्बन्ध कसरी सुधार्ने भन्ने विषयमा कूटनीतिक छलफल प्राथमिकतामा पर्दैन र जनताको दैनिकी सहज बनाउने उपायको खोजी गरिँदैन भने त्यो देश कालान्तरमा कहाँ पुग्छ, सोचनीय पक्ष हो । अनि सार्वजनिक खपतका लागि दुईचार कुरा गरिटोपल्ने राजनीतिक नेतृत्व छद्मभेषी नभएर के हुन्छ ? यस्तो राजनीतिक प्रवृत्तिको बोझ हामीले कहिलेसम्म बोकेर हिँड्ने ? नेपाली समाज आजित छ र निकासको खोजी गर्दैछ । हामी नेपाली यस्तो प्रवृत्तिसँग बेलैमा होसियार हुनुपर्छ ।

साँच्चै भन्ने हो भने हामी सत्ताबेगर बाँच्नै नसक्ने भएका छौं । लाग्छ कि सत्ता पानी हो र हामी माछा हौं । राज्यका सम्पूर्ण अंगमा गैरलोकतान्त्रिक प्रवृत्ति हावी भएको छ, जसलाई आफ्नो निजी स्वार्थबाहेक अर्थोक मतलव छैन ।

प्रतिभाको उपेक्षा 

औसत योग्यता र क्षमताले समाज बन्दैन । दुनियाँका विकसित र समृद्ध राष्ट्रहरू त्यहाँका मेधावी, प्रतिभाशाली र पौरखी नागरिकले बनाएका हुन् । लोकतन्त्र भनेको योग्यतन्त्र पनि हो । विदेशीहरू यसलाई 'मेरिटोक्रेसी' भन्छन्, जहाँ योग्यता, दक्षता र मेहनतको कदर हुन्छ । बगैँचामा फूलेका सुन्दर फूलहरूप्रति आदर, अनुराग र प्रेमभाव नदर्शाउने कोही हुँदैन । तर, नेपाली समाजले त फूल निमोठ्न जानेको छ, कुल्चिन जानेको छ । हाम्रो देशमा प्रतिभाहरू बस्ने र बाँच्ने वातावरण नै छैन । राजनीतिक दलमा त भजनमण्डली भए पुगिहाल्छ, गतिला मान्छेको काम छैन । समाजको आधारभूत तहमा आ–आफ्नो दलको अस्तित्व जोगाएर बसेका सदस्यहरूको खोजखबर कसैले गर्दैन । उसले भोगेको जीवन र संघर्षको कुनै मूल्यांकन छैन ।

दलका नेताहरू संवेदनाशून्य छन् । दलमा आफ्नो प्रभुत्व भए पुग्छ । राज्यको ओहोदा प्राप्तिका लागि दलको सिद्धान्त, आदर्श, परम्परा र मौलिकता पन्छाएर जो सुकैसँग जहिलेसुकै सम्झौता गर्छन् । काम र लगनलाई निरुत्साहित गर्छन् र स्वस्तिगानलाई प्रोत्साहन गर्छन् । यसैको परिणाम हो प्रतिभा पलायन । आखिर यो कहिलेसम्म ? हुन त गतिला मान्छेले देश परित्याग गरेपछि सिधासाधा नागरिकमाथि शासन गर्न सहज हुन्छ भन्ने बुझेर नै हुनुपर्छ, राज्य मुकदर्शक बसेको छ अनि दलहरू ढुक्क छन्। अदक्ष र औसत बुद्धि भएका नागरिक मात्र साथ लिएर तीव्र गतिमा राष्ट्र निर्माण गर्न सकिँदैन । यस वास्तविकतालाई कहिले र कसले बुझ्ने ? र, अर्को कुरा प्रतिभालाई संसारको कुनै शक्तिले कज्याएर भरिया बनाउन सक्दैन । ठूल्ठूला ओहोदामा पुगेका नेपालका शक्तिशाली व्यक्तिहरूले पनि बुझ्नुपर्छ कि यो उनीहरूका लागि दुष्कर काम हो । तथापि, यतिबेला यस्तो प्रवृत्ति नेपाली राजनीतिको प्रमुख प्रवृत्ति भएको छ । जसले प्रतिभा पलायनलाई मलजल गरिरहेको छ । राजनीतिक नेतृत्व तमासे छ, एक प्रकारले आनन्दित देखिन्छ ।

आदर्शको विस्थापन 

एकताका सज्जन, इमान्दार र सरल व्यक्ति समाजको आदर्श हुन्थ्यो । आफ्नो मेहनत र पसिनामा बाँचेको परिवार सबैका लागि अनुकरणीय बन्थ्यो । सबैले त्यसको सिको गर्थे र त्यसैको अनुशरण गर्थे । त्याग, उत्सर्ग र परोपकार मानव जीवनको लक्ष्य अर्थात् सपना हुन्थ्यो । समाजमा वैयक्तिक वा निजी स्वार्थबाट माथि उठेर काम गर्ने पात्रहरू बग्रेल्ती पाइन्थे । समाज अनुशासित थियो । धार्मिक र जातीय सद्भाव गहिरो थियो ।

सबै समुदाय मिलेर बसेका थिए । आपसी भाइचारा थियो । यसले हाम्रो सामाजिक तागतलाई सुदृढ तुल्याएको थियो । राजनीतिकरूपमा वादविवाद देखिए पनि सामाजिक जीवनमा गम्भीर रूपमा असर देखिँदैनथ्यो । यसले हामी नेपालीको आत्मविश्वासलाई टुट्न दिएको थिएन । तर, अहिले हामी कहाँ छौं ? हाम्रो समाज कहाँ छ ? धेरै चिन्ताजनक स्थिति छ । राजनीतिक इतिहासको पछिल्लो कालखण्डमा नेपाली समाजमा जातीय विद्वेषको धरातल निर्माण भएको छ । धार्मिक द्वन्द्वको पृष्ठभूमि तयार पारिँदैछ ।

शदीयौंदेखि आर्थिक र जातीय विभेदले थला परेको मुलुकमा द्वन्द्वका नयाँ संस्करणहरू पटाक्षेप हुँदैछन् । नेपाल र नेपालीको पहिचानलाई जातीय र धार्मिक छाताले विस्थापित गरिरहेको छ । विश्वको एउटा कुनामा कुनै पनि नेपालीले प्राप्त गरेको सफलता र राखेको कीर्तिमानलाई सम्पूर्ण नेपालीले आफ्नो साझा गौरव ठान्दथे । आज यसलाई जात र समुदायसँग जोड्न थालिएको छ । यसले हामीलाई कता घिसार्दैछ ? के यस विषयमा हामी चिन्तित छौं त? अहँ, त्यस्तो लाग्दैन । जब समाजबाट आदर्श हराउँदै जान्छ, तब कुरूप सामाजिक चित्रको उदय हुन्छ । इजरायल र हमासबीचको पछिल्लो युद्ध यसैको ताजा दृष्टान्त हो ।

अफगानिस्तान यस्तै आन्तरिक प्रवृत्तिका कारण क्षतविक्षत भई विदेशीको क्रिडा मैदान भयो । २१ औं शताब्दीमा पनि दर्जनौं सामाजिक, आर्थिक समस्याले ग्रस्त नेपाल पनि गृहयुद्ध वा सामाजिक, आर्थिक र धार्मिक द्वन्द्वको पर्खाइमा हो ? तसर्थ आदर्शको स्खलनले भविष्यमा निम्त्याउने भयानक त्रासदीलाई रोक्नेतर्फ हामीले प्रयास गर्नुपर्छ कि पर्दैन ? तर, विडम्बना नै मान्नुपर्छ जानेर वा नजाने नेपालका राजनीतिक दलहरू यस्तै प्रवृत्तिका बाहक भएका छन् ।

लोकतन्त्रको चीरहरण

लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता, विशेषता र चरित्रसँग गम्भीर रूपमा सैद्धान्तिक र राजनीतिक विमति राख्ने प्रवृत्तिले लोकतन्त्रको विरासत भिरेको छ । भिरेको यस अर्थमा कि यो उसको जीवन पद्धति र अंग दुवै होइन । अधिनायकवादी चिन्तन बोक्ने र एकदलीय तानाशाहीमा विश्वास भएको राजनीतिक शक्ति शासनको केन्द्रमा छ र उसैले लोकतन्त्रको परिभाषा फलाक्दै छ, जसको लोकतन्त्रसँग मितेरी साइनो समेत छैन । सके यही अवधि नत्र निकट भविष्यमा मौजुदा प्रणालीको गला घोटेर आफू अनुकूलको राजनीतिक प्रणाली थोपर्न खोज्ने यस प्रवृत्तिले लोकतन्त्रको हुर्मत लिएको छ र हामी नेपाली तमासे छौं ।

लोकतन्त्र र बहुलवादमा विश्वास गर्ने राजनीतिक दलहरू समेत त्यही प्रवृत्तिसँग अंकमाल गरिरहेका छन् । यसको एउटै मात्र कारण सत्ता स्वार्थ हो । साँच्चै भन्ने हो भने हामी सत्ताबेगर बाँच्नै नसक्ने भएका छौं । लाग्छ कि सत्ता पानी हो र हामी माछा हौं । राज्यका सम्पूर्ण अंगमा गैरलोकतान्त्रिक प्रवृत्ति हावी भएको छ, जसलाई आफ्नो निजी स्वार्थबाहेक अर्थोक मतलव छैन ।

राज्यका संस्थाहरू पद्धतिविहीनतामा चलेका छन् । संविधान र पार्टी विधानको मर्ममाथि गम्भीर खेलबाड छ । सबैजसो गतिविधिहरू व्यक्ति केन्द्रित छन् । संस्थागत क्रियाकलाप हुन छाडेका छन् । यसले हामीलाई कता डोर्‍याउँदैछ ? मुख्यगरी नयाँ पुस्ताको मन मरेको छ । उनीहरूलाई आफ्नो देशप्रति पटक्कै भरोसा छैन । एक प्रकारले राज्यका क्रियाकलापले आहत भएका छन् । समग्रमा राज्यमा गैरलोकतान्त्रिक प्रवृत्तिको बोलावाला छ । के यसैका लागि बारम्बारको संघर्षबाट वर्तमान शासन प्रणालीको स्थापना गरेको हो त ? सचेत नेपालीहरूले सोच्ने बेला आएको छ । र, लोकतन्त्रको राम्रो स्वास्थ र दीर्घ जीवनका लागि गम्भीर बन्ने बेला आएको छ ।

सरसर्ती हेर्दा नेपाली राजनीतिका मूल प्रवृत्ति यिनै हुन् ।

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x