असार १, २०८०
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
काठमाडाैं | जेठ २९, २०८१
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले ३ वर्षको समय गुजारेको छ । विभाजनपछि समाजवादीका प्रमुख नेतादेखि हजारौं कार्यकर्ता पार्टी त्यागेर मूल घर एमालेमै फर्किएका छन् । माधव नेपालको नेतृत्वमा समाजवादीले कांग्रेससँग मिलेर गत निर्वाचनमा १० सिट जित्यो, तर राष्ट्रिय पार्टी बन्न सकेन । त्यसयता विभाजित पार्टीका रूपमा समाजवादीको औचित्यमाथि थुप्रै प्रश्न उठेका छन् ।
यसबीचमा प्रस्ट नीति, सिद्धान्त र कार्यक्रमको अभाव भएको भन्दै पार्टी विभाजनको औचित्य पुष्टि हुन नसकेकोसम्मका बहस पनि भइरहेको छ । यसै पृष्ठभूमिबीच समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा १०औं महाधिवेशन गर्दैछ ।
सम्मानित नेता झलनाथ खनालले समेत पार्टी कमजोर हुनुमा नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् । अब पुरानो नेतृत्वबाट पार लाग्दैन भन्नेमा कार्यकर्ता पुगेको दाबी समेत खनालको छ । एकीकृत समाजवादीको आसन्न महाधिवेशन, नेतृत्वका लागि शुरू भएको दौड लगायतका विषयमा खनालसँग लोकान्तरका लागि रमेश सापकोटाले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
एमालेबाट विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेको ३ वर्ष पुग्न लाग्यो । एउटा चुनाव पनि फेस गर्नुभयो । यसबीचमा पार्टी कति स्थापित भयो भन्ने लाग्छ यहाँलाई ?
– हामीले एमालेमा विद्रोह गरेको ३ वर्ष पुग्न लागेको छ । यो अवधिमा हामीले यो पार्टीको विकास, विस्तार बेग्लै ढंगले गर्नुपर्दथ्यो । हामीले सोचेअनुसार भएको भए यो पार्टी एउटा ढाँचामा जाने थियो । मध्यस्तरको शक्तिशाली पार्टी विकास हुने थियो । तर, विद्रोह जुन कारणले गर्यौं त्यसलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रूपले पुष्टि गर्ने काम हुन सकेन ।
कतिपय इस्युमा पार्टीले लिएको अडान गलत भयो । त्यसले गर्दा पार्टीको विकास र विस्तार राम्रो ढंगले हुन सकेन । एमसीसी, स्थानीय तह र राष्ट्रिय तहको निर्वाचनमा हामीले ठीक नीति र अडान लिन सकेनौं । नागरिकताको विषयमा गलत नीति लियौं । अपराधीलाई जेलबाट छुटाउने गरी तत्कालीन गठबन्धन सरकारले लिएका नीतिप्रति पनि हाम्रो पार्टीले ठीक अडान लिन सकेन । त्यसले गर्दा पार्टीको विकास अपेक्षित ढंगले हुन सकेन । तथापि हामी पार्टीको १० औं महाधिवेशनमा आएका छौं । यो पार्टीको जीवनमा अत्यन्त महत्त्वपूर्ण परिघटना हो ।
नेतृत्वले पार्टी विभाजनको औचित्य पुष्टि गराउन सकेन भन्ने यहाँको निष्कर्ष हो ?
– पार्टी विभाजनको औचित्य छ । यसको वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक, सांस्कृतिक औचित्य छ । विधि र विधानको हिसाबले, कार्यशैली र कार्यपद्धतिको हिसाबले पनि पार्टी विभाजनको औचित्य छ । तर, यसको पुष्टि जसरी हुनुपर्थ्यो त्यो हुन सकेन । अझै पुष्टि हुन बाँकी छ ।
सैद्धान्तिक, नीतिगत वा व्यावहारिक के हिसाबले औचित्य पुष्टि हुन नसकेको त ?
– नेतृत्वले एउटा सुस्थिर नीति लिन सकेन । मुद्दाहरूमा ठीक इस्यु लिन नसक्दा पार्टी ठीक ढंगले अगाडि बढ्न नसकेको हो । हामीले किन विद्रोह गर्यौं भनेर नेतृत्वले वैचारिक, राजनीतिक, सैद्धान्तिक के कारणले हो भनेर प्रस्ट पार्न सक्नुपर्थ्यो ।
एमालेको नेतृत्वसँग हाम्रा यी–यी कुरामा मतभिन्नता हुन् भनेर प्रस्ट्याउनुपर्थ्यो । नेतृत्वले त्यसो गर्न नसकेकाले पार्टीले विकासको जति गति लिनुपर्थ्यो त्यो लिन सकेन ।
अब महाधिवेशनले मात्रै पार्टीलाई गति र दिशा दिन सक्छ भन्ने यहाँको भनाइ हो ?
– एकदमै । महाधिवेशनपछिको कोर्स नयाँ बाटोमा अगाडि बढ्छ । हामीले लामो समयदेखि समाजवादी क्रान्ति, समाजवादी कार्यक्रम भन्दै आयौं । हाम्रै पार्टीभित्र पनि कम्युनिस्ट आन्दोलनमा जबजको औचित्य अहिलेसम्म छ, जबज नै मार्गदर्शक सिद्धान्त हो भन्ने पनि छ । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मानेको छ । एमालेले यस्तो भनिरहनु पनि नितान्त गलत र लज्जास्पद कुरा हो । हाम्रो पार्टीको नेतृत्व पनि जबज हुनैपर्छ, जबजको औचित्य अझै छ भन्ने विगतको धङधङीबाट मुक्त हुन नसकेको अवस्था छ । त्यसैले पार्टीका कार्यदिशा, नीति र सिद्धान्त स्थिर हुन सकेनन् ।
अब हुने महाधिवेशनले विगतका यस्ता धङधङीबाट मुक्त भएर नयाँ धरातलमा अहिलेको राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको ठोस र जीवन्त विश्लेषण गर्नुपर्छ । समाजवादी कार्यक्रम पनि यही ढंगले अगाडि सारिन्छ । कार्यदिशा, नीति र सिद्धान्तलाई प्रस्ट पारेर अगाडि बढ्न सकिने ऐतिहासिक अवसर महाधिवेशनले दिएको छ । यो हाम्रो पार्टीका लागि कोशेढुंगा बन्नुपर्छ ।
तपाईंको विचारमा जबज सान्दर्भिक छैन भन्ने नै हो ?
– पार्टीको नाम कम्युनिस्ट पार्टी समाजवादी छ । तर, सिद्धान्त जबज छ । त्यसमाथि अझै मार्गदर्शक सिद्धान्त नै जबज हो भन्ने पनि छन् । जबज भनेको पुँजीवादी लोकतन्त्र हो, त्योभन्दा बढी केही पनि होइन । एउटा कम्युनिस्ट मार्क्सवादीले जबजलाई मार्गदर्शक सिद्धान्त मानेको छ भन्ने सुन्दा संसारका कम्युनिस्टहरू हाँस्छन् । हामीले सोचेको विषयलाई सारा संसारले मान्छ, ब्रह्माण्डले मान्छ भन्ने कसैले ठान्छ भने त्यो गलत छ । यो दिग्भ्रम मात्रै हो । तर, अब ठण्डा दिमागले व्यावहारिक यथार्थलाई स्वीकार गरेर हाम्रो देशका ठोस परिस्थिति, विशिष्टतामा आधारित समाजवादी कार्यक्रमलाई लिएर अगाडि बढ्नुको विकल्प छैन ।
यहाँहरू महाधिवेशनको नजिक पनि हुनुहुन्छ । कस्तो भइरहेको छ तयारी ?
– हामी राष्ट्रव्यापी, पार्टीव्यापीरूपमा महाधिवेशनका लागि तयारीमा छौं । आमकार्यकर्ता परिवर्तनको पक्षमा छन् । हामी वैचारिक र संगठनका हिसाबले तयारीका साथ अगाडि बढेका छौं ।
यहाँले सिद्धान्त, नीति सबै विषयमा कमजोर भयौं भन्नुभयो । वर्तमान नेतृत्वमै कमजोरी छ, यसलाई पार लगाउन म आफैं अगाडि सर्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?
– हरेक प्रकारले निर्णायक कुरा वैचारिक र राजनीतिक कार्यदिशा नै हो । त्यो कार्यदिशा सही नहुनुको कारणले पनि हामी त्यो खालको अवस्थाबाट गुज्रेका छौं । यो महाधिवेशनले स्वाभाविक रूपमा त्यस्ता कुरालाई सच्च्याउँछ । वैचारिक कार्यदिशा ठीक ढंगले अगाडि बढेपछि त्यो कार्यक्रमका आधारमा नेतृत्व पनि निर्माण हुनुपर्छ । त्यसका निम्ति मैले के भूमिका खेल्नुपर्छ, जुनसुकै भूमिकाका लागि म एकदमै तयार छु ।
यहाँ पार्टीको सम्मानित नेता हुनुहुन्छ । अब नेतृत्वका लागि अघि बढ्छु भनेर अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गर्नुभएको छ ?
– नेतृत्व निर्माण गर्ने कुरामा उहाँको पनि केही आकांक्षा हुन सक्छ । मेरो पनि र अरू कसैको पनि आकांक्षा हुन सक्छ । आखिर निर्णय त महाधिवेशनका प्रतिनिधिले गर्ने हो । हामी आफैं पनि छलफल गर्दैछौं । मलाई लागेको कुरा भनेको सहमतिपूर्वक नेतृत्व निर्माण गर्नुपर्छ । सधैँभर एउटै व्यक्ति ओहोदामा बस्नैपर्छ भन्ने छैन । म ०४६ सालमा कठिन कालमा पार्टीको महासचिव थिएँ । कठिन अवस्थामा पार्टी निर्माणका लागि नेतृत्व दिएँ । सहज ढंगले महासचिव छाडेर मदन भण्डारीलाई बनाएँ । त्यसपछि फेरि ०६४ सालमा पार्टीले फेरि महासचिव बन भन्यो । महासचिव भएँ । ०६५ सालको महाधिवेशनबाट पार्टीको अध्यक्ष बनें ।
०७० सालको महाधिवेशनमा म आफैं ब्याक भएर कमरेडहरू तपाईंहरू नै नेतृत्व गर्नुस् भनेर छाडें । सत्ता र नेतृत्वमा बस्ने विषय सहज हुनुपर्छ । एकपटक सत्तामा पुगेपछि त्यसैमा टाँस्सिएको छ, टाँस्सिएको छ । त्यहाँबाट उक्काउन गल नै लगाउनुपर्ने, हटाउन विद्रोह नै गर्नुपर्ने भनेको राजतन्त्रजस्तो स्थिति हो । राजतन्त्रलाई उखेल्न लामो संघर्ष चाहियो । २०६२/०६३ को विद्रोहले नेपालको शाही राजतन्त्र गयो । पार्टीभित्र यस्तो विद्रोह चाहिँदैन । सही वैचारिक र राजनीतिक कार्यदिशा नै मुख्य हो । यसै कार्यक्रमका आधारमा नेतृत्व चयन गर्दा कहिले को बन्छ, कहिले को बन्छ । माधव कमरेड र मेरोबीच त आलोपालो चलिरहेको छ । यसपालि पनि आलोपालो हुन सक्छ, के ठूलो कुरा भयो र ?
आलोपालो गरौं भनेर नेपालसँग छलफल भएको छैन ? एकपटक तपाईंले गर्नुभयो अब म गर्छु भन्नुभएको छैन ?
– म जहिले पनि खुलस्त छु । मैले खुला छु, छलफल गरौं भनेपछि अध्यक्ष नेपालले अलि नमीठो मान्नुभएछ । विभिन्न साथीहरूलाई बोलाएर जेएनले यस्तो गर्ने भन्नुभएछ ।
तपाईंप्रति त सार्वजनिकरूपमै तीतो पोख्नुभयो नि ?
– हो, उहाँले त्यस्तो गर्नुभयो । त्यस्तो गर्नुपर्ने कुनै जरुरी छैन । राजतन्त्रात्मक चिन्तनले मात्रै त्यस्तो गर्छ । आफू एकपटक भएपछि जिन्दगीभर मै भइरहनुपर्छ भन्ने ठान्नुहुँदैन । प्रजातान्त्रिक र वैचारिक आधारमा चल्नुपर्छ ।
नेतृत्वका लागि तलका नेता/कार्यकर्ताको माग हो कि, पार्टीको आवश्यकता हो कि, तपाईंकै आकांक्षा बढी हो ?
– पार्टीका आमकार्यकर्ता अहिलेको नेतृत्वबाट सन्तुष्ट छैनन् । मलाई तपाईं नै सक्रिय हुनुपर्छ भन्ने माग आइरहेकाले ठीक छ, म विचार गर्छु भनेको छु । उमेरले त विस्तारै डाँडो काट्दै छ । तर, अझै १० देखि १५ वर्षसम्म सक्रिय हुन सक्छु । यसैले यो बीचमा पार्टी निर्माणमा, पार्टीलाई सही दिशातर्फ लानका लागि र नयाँ युवा पंक्तिलाई हुर्काउनका लागि मैले भूमिका खेल्नुपर्ने आवश्यकता छ, म तयार छु भन्ने हो ।
यहाँनेर अलिकति विरोधाभाष– युवापंक्तिको पनि कुरा गर्नुभयो, तर ७० वर्षको उमेरहद शीर्ष नेताले आफ्नै लागि फुकाएको जस्तो देखियो नि ?
– ७० वर्षको उमेरहद नवौं महाधिवेशनमा मैले अगाडि सारेको हुँ । किनकि उमेरहद राख्दा नयाँ नेतृत्व आउँछ कि भन्ने लागेको थियो । तर, उमेरहदले कुनै फल प्राप्त भएन । कोही युवा नेता म अगाडि सर्छु भनेर आएनन् । एमालेमा आएनन् अनि उसले उमेरहद नै हटाइदियो । अहिले हाम्रो केन्द्रीय परिषद्ले पनि यो उमेरहद हटाइदियो । कुनै नेता विशेष र आमकार्यकर्ताले हटाएको होइन, न मैले नै प्रस्ताव गरेर हटाएको हो ।
उहाँहरूले हटाउनुको अर्थ उमेर होइन, विचार मुख्य कुरा भन्ने होला । पाको मान्छे भए पनि सही विचार दिन्छ भने त्यसैले नेतृत्व गर्नुपर्छ । तर मान्छे युवा, विचार परिपक्व छैन भने के गर्ने ? भड्काएर कता लाने हो, केही ठेगान हुन्न । यसैले विचार निर्णायक हो, उमेर निर्णायक होइन भन्नेमा कम्युनिस्ट आन्दोलन पुगेको छ ।
अब असारको तेस्रो साता (असार १६ देखि २०)मा हुने महाधिवेशन रोकिँदैन ?
– यसअघि एक-दुईपटक महाधिवेशन रोकियो । त्यो नेतृत्वको लापरबाहीले रोकिएको हो । व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन भनेर आकलनसहित मिति निर्धारण गर्नुपर्ने हो । तर नेतृत्वको कमजोरीका कारणले दुईपटक रोकियो । अब तेस्रोपटक कुनै हालतमा रोकिँदैन । पृथ्वी उल्टो घुम्न थाले पनि रोकिँदैन ।
भनेपछि महाधिवेशन पनि रोकिँदैन, तपाईंलाई अध्यक्षमा उठ्नबाट पनि कसैले रोक्न सक्दैन ?
– अगाडि जान कसैले रोक्न सक्दैन । रोक्न मिल्दा पनि मिल्दैन । रोक्न पनि सकिँदैन ।
यहाँले सहमतिमा नेतृत्व चयन पनि भन्नुभयो । यो सहमति माधव नेपालको नाममा भए पनि हुने कि तपाईंको नाममा हुनुपर्ने हो ?
– पुरानो नेतृत्वको नाममा आमसहमति सम्भव छैन । नयाँ नेतृत्वमा सम्भव छ । यसैका लागि प्रयत्न गर्नुपर्छ । पुरानो नेतृत्वले अरू हुँदैन, मै हुनुपर्छ भन्यो भने प्रतिस्पर्धा हुनसक्छ । प्रतिस्पर्धा भए पनि केही छैन, म तयार नै छु । स्वच्छ प्रतिस्पर्धालाई हामीले स्वागत नै गर्नुपर्छ ।
नेतृत्वमा दाबी गर्न यति धेरै आत्मविश्वास आउनुको कारण के होला ?
– म सधैँ विचारको मान्छे हुँ । म विचार दिन्छु । विचारका आधारमा अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । निजी कुरा, पद र ओहदातर्फ म धेरै ध्यान दिन्नँ । त्यसकारण विचारको कुरा गर्ने भएकाले आमकार्यकर्ताहरूले अहिले मेरो विचारलाई चाहिरहेका छन् । विचारलाई चाहेपछि विचार दिने मान्छेलाई कार्यकर्ताले स्वतः चाहन्छन् । विचार र व्यक्ति अलग हुँदैन । यसैले धेरैको आग्रह भएकाले अध्यक्षमा अगाडि बढ्नुपर्छ भन्ने ठानेको छु ।
वर्तमान गठबन्धन र सरकारका काम कारबाहीबारे यहाँको धारणा के छ ?
– पहिलाको भन्दा तुलनात्मक रूपमा यो गठबन्धन सकारात्मक छ । यसकारण यो गठबन्धनलाई हाम्रो पार्टीले समर्थन गरेको छ । सरकारमा सहभागी पनि छ । समस्या त अहिले पनि छन् । तर, तुलना गरेर हेर्दा सकारात्मक भएकाले यसलाई समर्थन गरिरहेका छौं ।
तपाईं समर्थन र विश्वासको कुरा गर्नुहुन्छ, तर पार्टीले त सत्ता पक्षसँग बार्गेनिङ गरिरहेको देखिन्छ । विपक्षी मोर्चाको बैठकमा अध्यक्ष नै जानुभएको छ नि ?
– यो आलोचना सही हो । हामीले जुन समीकरण बनाएका छौं, त्यसमा प्रवेश गरिसकेपछि दुईवटा डुंगामा खुट्टा हाल्ने कोशिश गर्नु हुँदैन । हाम्रो अध्यक्ष कता–कता जानुभयो भन्ने खालको कुरामा असन्तुष्टि आएको छ । यस्तो गर्नु उपयुक्त थिएन । त्यसले उहाँ (अध्यक्ष)लाई पनि त्यति राम्रो गरेको जस्तो मलाई लाग्दैन । समीकरणमा बसेपछि यसको लाइनमा पार्टी अगाडि बढ्नुपर्छ । निर्णय गरेर समीकरणमा जाने भनेपछि लाइनभन्दा भिन्न ढंगले कसैले पनि हिँड्न हुँदैन । समीकरणभित्रै समस्या छन्, त्यहाँ लड्नुपर्यो । लड्दा पनि समस्या समाधान भएन भने समीकरणबाट बाहिर आउन कसैले रोक्न सक्दैन । अन्यथा पार्टीलाई मानेर अगाडि बढ्नुपर्छ ।
अध्यक्ष विपक्षीको बैठकमा सहभागी हुन बूढानीलकण्ठ पुग्दा तपाईं बालुवाटार पुग्नुभयो नि ? यो संयोग मात्रै हो कि लाइन पनि यस्तै हो ?
– यो संयोग मात्रै हो । मैले केही दिन अगाडिदेखि प्रधानमन्त्रीसँग भेट्ने कुरा गरिरहेको थिएँ । म गएको अघिल्लो दिन मात्रै अध्यक्ष उता बूढानीलकण्ठ जानुभएको रहेछ, मलाई त्यो थाहा पनि थिएन । तर, प्रधानमन्त्रीले तपाईंको अध्यक्ष किन जानुभएको हो भनेर सोध्नुभयो । मलाई थाहा भएन भनें । तपाईं नै सोध्नुस् न भनेर प्रधानमन्त्रीलाई भनें । उहाँले मेरै अगाडि फोन गर्नुभयो । पछि फेरि प्रधानमन्त्रीलाई सोधेर गएको भन्ने कुरा पनि आए ।
यो सरकार बनेदेखि नै यसको आयुलाई लिएर टिप्पणी हुन थालेका थिए । एमालेले पनि जसरी सरकारलाई सहयोग गर्नुपर्थ्यो, त्यस्तो देखिएको छैन भन्छन् नि ?
– एमालेले यो प्रकारको समीकरण बनाइसकेपछि मन, वचन र कर्मले यसलाई सही दिशा दिन, सुदृढ गर्नतिर लाग्नुपर्छ । सबैको बीचमा राम्रो सद्भाव र सम्मानजनक परिस्थिति सिर्जना गर्नु एमालेको दायित्व हो । सरकारमा सिनियर र जुनियर मन्त्री कसलाई पठाउने उहाँहरूको कुरा हो । तर, जुन हिसाबले यो समीकरणलाई अगाडि बढाउन तदारुकता देखाउनुपर्ने हो, सबैबीच मैत्रीभाव कायम गराउनुपर्ने हो, त्यसमा एमालेले पहलकदमी नलिएको जस्तो देखिन्छ ।
एमाले नेतृत्व आफैं गतिशील भएर लाग्नुपर्छ । यसमा हाम्रा पनि समस्या होलान्, तर मूलतः एमालेका समस्या हुन् । एमाले यो गठबन्धनमा पनि बस्दैछ र अर्को गठबन्धनका विषय पनि सोच्दैछ भने त्यो दुई डुंगामा खुट्टा हालेर हिँड्ने कुरा हो । यसमा कहिल्यै सफल भइँदैन । समीकरणलाई बलियो र दरिलो बनाउन एमालेको ठूलो जिम्मेवारी छ ।
एमालेसँगको सम्बन्धलाई लिएर अध्यक्षको एक खालको तनावजस्तो देखिन्छ । तर, तपाईं शान्त हुनुहुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तपाईं नजिक हुनुहुन्छ हो ?
– यो तपाईंहरूको बुझाइ हो । मसँग क्षुद्रता छैन । जतिसुकै भिन्नता भए पनि म त्यस्तो भिन्नता नीतिमा खोज्छु, मान्छेको प्रवृत्तिमा खोज्दिनँ । मान्छेले के लगाएको छ, नाक सोझो छ कि बांगो छ, उसले कस्तो खालको व्यवहार गर्छ आदि कुरामा म मतलब राख्दिनँ । समूहको विचार, नीति, दृष्टिकोण र उसका ‘ओरिएन्टेसन’ कस्ता छन् भन्ने कुरालाई म हेर्छु ।
एमालेको नेतृत्वसँग मेल हुन सक्ने तत्काल कुनै सम्भावना म देख्दिनँ । हामीबीच गम्भीर मतभेदहरू छन् । ती मतभेद हल नभएसम्म एकताको सम्भावना छैन । अन्य समूहसँग पनि त्यस्तै अवस्था छ । तर, डिग्रीमा भिन्नता छन् । कोहीसँग अलि निकटता र कोहीसँग दूरीमा छौं । सबै कम्युनिस्टले राम्रो पहल गरेको खण्डमा, वैचारिक, सैद्धान्तिक विषयमा एकरूपता ल्याउन खोजेको खण्डमा एउटै कम्युनिस्ट पार्टी कहिल्यै बन्न सक्दैन भन्ने म ठान्दिनँ । तर तत्काल त्यहाँ पुगिँदैन । एकीकृत र एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्छ भन्ने मेरो दृढता छ ।
कम्युनिस्ट दल मिल्नुपर्छ भनेर अरूभन्दा तपाईंले नै बढी बोलेको सुनिन्छ । के फेरि एमालेतिरै फर्किनुपर्छ भन्न खोज्नुभएको हो ?
त्यो बिलकुल होइन । घरको आग्लो कहिले पूर्व, कहिले पश्चिम हुन्छ । तर, कम्युनिस्ट पार्टी आग्लोजस्तो हुनु हुँदैन । अझ लिडरले त झन् हुँदै हुँदैन । म त सुस्थिरताको पक्षमा छु । त्यस्तो भएन भने राजनीति चल्दैन । त्यो राजनीतिज्ञको इमेज पनि रहँदैन । म २०२० सालबाट बनेको कम्युनिस्ट हुँ । अहिलेसम्म मेरो सुस्थिर धारणा छ । हामीले २०६२/०६३ मा जनवादी क्रान्ति सम्पन्न गर्यौं । यसपछि हामी समाजवादी रूपान्तरणको युगमा छौं । यो युग अनुरूपका कार्यक्रम, कार्यदिशा, नीति र सिद्धान्त अगाडि सार्नुपर्छ । यही अनुरूपको मोर्चा बनाउनुपर्छ । पार्टीलाई सकेसम्म एकता गर्ने, वामपन्थी एकता निर्माण गर्नुपर्छ । तर, वामपन्थी पार्टीमा पसिहाल्ने, विलीन भइहाल्ने यो आत्मसमर्पणवादी कुरा हो । त्यस्तो कुरा कसैले गर्नु हुँदैन ।
पार्टी विभाजनको औचित्य पुष्टि भएन भन्ने नेताहरूकै स्वीकारोक्ति देखिन्छ । अर्कातिर नेता पलायनको क्रम अझै रोकिएको छैन । तपाईंकै पार्टीका नेतादेखि कार्यकर्ता पनि एमालेमै फर्किर्नुपर्छ भन्ने ठूलो मत रहेको छ भन्छन् नि ?
– यो मान्छेको अनुमान हो । यस्तो हल्ला एमालेका साथीहरूले पनि गर्न सक्छन् । हाम्रो पार्टीका मात्रै होइन, एमालेका धेरै नेता/कार्यकर्ता मेरो सम्पर्कमा हुनुहुन्छ । माओवादीका पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरू सबैको धारणा समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने छ ।
नेपाली विशेषताको समाजवाद निर्माण गर्नुपर्छ । अहिले प्रधानमन्त्रीले पनि विभिन्न भाषामा समाजवादी क्रान्तिकै कुरा गरिरहनुभएको छ । समाजवादका विषयमा सम्पूर्ण कम्युनिस्ट एक हुनुपर्छ । यो एकताबद्ध भएर अगाडि बढ्ने कुरा हो । म यसको वकालत गर्न कहिल्यै छाड्दिनँ । यो देश, युग र समयको आवश्यकता हो ।
गत निर्वाचनबाट यहाँहरूको पार्टी राष्ट्रिय दल बन्न सकेन । १० सिट मात्रै जित्यो । एमाले १० कम हुँदा दोस्रो दल बन्न पुग्यो । उनीहरूको बुझाइ पनि एमाले एक भएको भए पहिलो दल बनिने रहेछ भन्ने छ । एमालेले पनि एकताको आवश्यकता महसुस गरेको भन्ने लाग्छ तपार्ईंलाई ?
– पार्टी एकीकृत भएको भए, पार्टीमा विभाजन नआएको भए हामी ठूलो पार्टी हुन्थ्यौं । विभाजन अगाडि संघीय संसद्मा दुईतिहाइ बहुमतमा थियौं । नेकपासँग १० लाख पार्टी सदस्य थिए । सातमध्ये ६ वटा प्रदेशमा बहुमतमा थियौं । तर, ७५३ पालिकामा ४ सय बढीमा हामी बहुमतमा थियौं । ५० प्रतिशत बढी मत हामीले प्राप्त गरेका थियौं । त्यतिबेला हामी योभन्दा उता जाँदा स्वर्ग छ कि भन्ने ठाउँमा पुगेका थियौं । जनतालाई समृद्धिको शिखरतिर पुर्याउनुपर्ने थियो । राष्ट्र र जनतालाई समृद्धितर्फ रूपान्तरणमा लानेगरि केन्द्रित भएर सोच्नुपर्थ्यो । तर स–साना अन्तरविरोध, इगोको टक्करको कारणले संसद् नै विघटन गर्ने अवस्थामा पुग्यौं । त्यहाँदेखि ओरालो लागेको यात्रा अहिलेको हो । अहिले आएर साथीहरूले अलिकति महसुस गर्न थालेको अवस्था छ ।
हामी एकताबद्ध भएको भए अर्कै हुन्थ्यौं । एमाले मात्रै नफुटेको भए पनि ठूलो पार्टी सजिलै हुन्थ्यौं । हिजो दुईतिहाइ थियौं, अहिले कल्पना ठूलो पार्टीका लागि भएको छ । बहुमतका लागि होइन, दुईतिहाइबाट झरेर ठूलो पार्टीको परिकल्पना गर्ने ठाउँसम्म आइपुगेका छौं । अहिले पनि पार्टीलाई एकताबद्ध गर्ने ठाउँ छ । विचार, नीति, सिद्धान्त र लक्ष्यमा एकता हुने हो । कम्युनिस्ट पार्टीको सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । नेपाली क्रान्ति पहिलो चरण सकाएर समाजवादी रूपान्तरणको ठाउँमा आइपुग्यो । यो क्रान्तिको कार्यक्रम समाजवादी हुनुपर्छ । यसो गर्दा प्रतिक्रियावादी, साम्राज्यवादीसँग लड्दै समाजवादमा पुग्न सक्छौं । सबै कम्युनिस्टलाई यो कुरा बोध भएपछि एकताको प्रक्रिया अगाडि बढ्छ ।
सत्ताको सहजताका लागि जसपा नेपाल विभाजित भयो । तत्काल आवश्यकता नभएकाले मात्रै समाजवादी फोर्न आवश्यक ठानेनौं भनेर खुला चुनौती आएका छन् नि, के भन्नुहुन्छ ?
– कुनै पनि पार्टीमा दक्षिणपन्थी, वामपन्थी विभाजन हुनु राम्रो होइन । अर्काको पार्टी विभाजन गर्ने प्रयत्न गर्नु कहिल्यै राम्रो होइन । नीतिले पराजित गर्नुहोस् न, प्रतिस्पर्धाले पराजित गर्नुहोस् न, त्यो ‘लजिकल’ र ठीक कुरा हुन्छ । तर, अर्को पार्टीलाई फोडेर, तोडेर, चकनाचुर पारेर, खसाएर, कमजोर पार्ने नियत र योजना कसैले लिन्छ भने त्यो षड्यन्त्रकारी शैली हो । म यसको सदैव विरोधमा हुन्छु । कसैलाई विभाजन गर्ने योजना एमाले नेतृत्वले बनाएको हो भने यो दुस्साहस नगरे हुन्छ । यसले एमाले सफल हुँदैन । यस्तो गरे एमालेलाई अपराधी र षड्यन्त्रकारी ग्याङमा परिणत गर्छ । यसकारण षड्यन्त्रकारी कार्यदिशा होइन, शुद्ध र क्रान्तिकारी विचार, नीति, दिशा दिनुपर्छ । नीति, लक्ष्यको आधारमा एकता गर्नु ‘फेयर’ राजनीति हो ।
महाधिवेशनको मुखमा हुनुहुन्छ । नीति र नेतृत्वमा महाधिवेशनबाट समाजवादी कति बदलिन्छ होला ?
– समाजवादी, वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक कार्यशैली, कार्यपद्धति र नेतृत्वको पनि हिसाबले रुपान्तरण हुनुपर्छ । यो हुन्छ । आमनेतादेखि कार्यकर्ता यही हिसाबमा अगाडि बढेका छन् ।
हेर्नुहोस्, भिडियो :
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन विशेष समितिले निकै मेहनतपछि आफ्नो प्रतिवेदन सोमबार प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिध...
कैलाश सिरोहियालाई पक्राउ गरिएको छ । एउटा व्यक्ति सिरोहिया हाम्रा लागि महत्वपूर्ण हुन पनि सक्छन्, नहुन पनि सक्छन् । तर, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष भएको नाताले नै सिरोहियालाई ’नन–इस्यू’मा पक्...
मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...