
सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको निर्देशनमा सचिवालयले आज समितिका सचिव र सबै समितिलाई पत्र लेख्दै उक्त विषयमा ध्यानाकर्षण गराएको हो ।
‘सङ्घीय संसद्को संस्थागत जानकारी एवं बिनाअनुमति कतिपय गैरसरकारी संस्थाहरूले सङ्घीय संसद्अन्तर्गतका समितिहरू तथा सचिवालयलाई सहयोग गर्ने, सांसद्को संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानून निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको गुनासा सुनिने गरिएको सन्दर्भमा समय-समयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासा पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराइएको छ,' संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
आइतबार प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाका कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक स्थगित भएको थियो ।