भारतको तीर्थनगरी ऋषिकेशमा विदेशी नागरिकहरूले लकडाउन नियम पालन नगरेको भेटिएको छ । यसले गर्दा प्रहरीलाई चुनौती थपिएको छ ।
शनिवार तपोवनस्थित गंगा घाटमा १० जना विदेशी पर्यटक लकडाउन अलिकति खुकुलो बनाइँदा घुम्न निस्किए ।
तपोवन चौकीका इन्चार्ज विनोद शर्माले यसको जानकारी पाएपछि उनीहरूलाई पक्राउ गरे । त्यसपछि उनीहरूको दिमागमा कुरा पसोस् भनेर ‘मैले लकडाउन पालन गरिनँ, मलाई माफ गर्नुस्’ भनी अंग्रेजीमा ५०० पटक लेख्न लगाए ।
ऋषिकेशमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मानिसहरूलाई खानेकुरा तथा अत्यावश्यक वस्तु किन्नका लागि बाहिर निस्कन दिइन्छ । विदेशी नागरिकहरू सामान किन्ने बहाना बनाएर गंगा किनारमा घुम्न थाले । केहीले गंगामा डुबकी लगाए, केही चाहिँ टहलिएर बसे ।
प्रहरीलाई यसको जानकारी आएपछि घटनास्थलमा पुगेर अनौठो सजाय दिएको छ ।