
कोरोनाभाइरसलाई नियन्त्रणमा लिन सफल केही देशहरूमा दक्षिण कोरिया पनि पर्छ । उसले बन्दाबन्दी (लकडाउन) नलगाइकनै परीक्षण, पहिचान र उपचार गर्ने नीति लिएर कोरोना नियन्त्रण गरेकोमा चौतर्फी प्रशंसा भइरहेको छ ।
केही मानिसले सार्स र मर्स जस्ता अघिल्ला महामारीहरूलाई दक्षिण कोरियाले व्यवस्थापन गरेको अनुभवबाट सिकेर अहिलेको कदम उठाएको भनिरहेका छन् । अमेरिकी टिप्पणीकारहरू देशको प्रभावकारी नेतृत्वका कारण यस्तो हुन सकेको बताउँदै डोनल्ड ट्रम्पको रद्दी व्यवस्थापनसँग यसको तुलना गर्छन् । अरू चाहिँ मानिसहरूमा समाजको हितका लागि निजताको बलिदान गर्ने इच्छा जस्तो सांस्कृतिक कारण जिम्मेवार रहेको बताउँछन् ।
तर प्रायः चर्चा नगरिएको एउटा पाटो के हो भने कोभिड–१९ विरुद्ध दक्षिण कोरियाको सफलता सार्वजनिक सेवा प्रदान गर्ने प्रभावकारी प्रणालीमा अडेको छ । यो आधारभूत संरचनाविना परीक्षण, पहिचान र उपचारको नीतिलाई कायम राख्न पनि सकिँदैनथियो अनि अहिलेका लागि आवश्यक विस्तार गर्न पनि सकिँदैनथियो । त्यसै पनि सेवा दिन सक्ने गतिलो सार्वजनिक सेवा प्रणाली भएन भने प्रभावकारी नेतृत्वले मात्र खासै केही हासिल गर्न सक्दैन ।
दक्षिण कोरियाको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल इन्चिओनकै कुरा गर्नुस् । सार्वजनिक व्यवस्थापनमा चलेको यो विमानस्थल संसारकै सर्वोत्कृष्टमध्येको एक भनी लगातार सूचीमा पर्ने गरेको छ । त्यसैगरी राजधानी सउलको मेट्रो प्रणाली सस्तो भाडा र प्रभावकारिताका लागि विश्वप्रसिद्ध छ । यो संसारका शीर्ष पाँच भूमिगत यातायातमा पर्छ ।
सबभन्दा प्रभावशाली पक्ष चाहिँ दक्षिण कोरियाको एक सार्वजनिक संस्थाले उपचारखर्च बेहोर्ने (सिंगल पेयर) प्रणाली हो जुन सन् २०१५ मा विकसित मुलुकहरूमध्ये पहिलो स्थानमा थियो ।
कोरियाका अधिकांश अस्पतालहरू निजी हुन् तर ९७ प्रतिशत जनसंख्यालाई अनिवार्य राष्ट्रिय स्वास्थ्य बीमा योजनाले समेटेको छ । निजी अस्पताल र सार्वजनिक बीमा प्रणालीबीचको यस सन्तुलनले उपचारमा सर्वसुलभ पहुँचका साथै प्रशस्त स्रोतसाधन उपलब्ध गराएको छ । अहिले कोरोनाभाइरस संकटका बेलामा यसको प्रभावकारिता स्पष्ट देखिएको छ ।
दक्षिण कोरियाले यस्तो उपलब्धि कसरी हासिल गर्यो ? दोस्रो विश्वयुद्धपछि पश्चिम युरोपमा कल्याणकारी राज्यप्रणाली स्थापना भएपनि कोरियाका निरंकुश शासकहरूका लागि त्यो प्राथमिकताको विषय थिएन ।
एसियाका अन्य विकासशील राष्ट्रहरू जस्तै जोड औद्योगिकीकरण र आर्थिक वृद्धिमै थियो । तर त्यसबेलामा तानाशाहरूले सार्वजनिक संरचनामा पनि भारी लगानी गरे किनकि कोरियामा बढ्दो उद्योगहरूका लागि यस्तो संरचना अपरिहार्य छ भन्ने उनीहरूलाई थाहा थियो । सन् १९७७ मा देशको पहिलो राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली शुरू गरियो यद्यपि त्यो अहिलेको जस्तो व्यापक तथा सर्वसुलभ स्वास्थ्य सेवा जस्तो थिएन ।
सन् १९८७ मा लोकतन्त्र बहाली हुँदा राज्यको नेतृत्वमा सञ्चालित आर्थिक मोडल र संरचना व्यवस्थापन कायमै राखियो । तर मानिसहरूको दृष्टिकोणमा भने परिवर्तन आयो । त्यो वर्ष निरंकुश शासन पतन हुुनुमा देशभरि गरिएका विरोध प्रदर्शनहरू जिम्मेवार थिए । सन् १९९० र २००० को दशकभरि दक्षिण कोरियामा अनेकौं नागरिक आन्दोलन भए ।
अमेरिकाबाट गाईको मासु आयात गर्नेदेखि सन् २०१४ मा फेरी जहाजको दुर्घटनामा सरकारले उचित व्यवस्थापनसम्मका घटनाको विरोध भयो । यसरी आमजनता उद्वेलित हुँदै जाँदा पूर्व राष्ट्रपति पार्क गेउन–ह्येविरुद्ध व्यापक प्रदर्शन भए । विरोध प्रदर्शन सन् २०१६ को अक्टोबर महिनादेखि सन् २०१७ को मार्च महिनासम्म चले ।
सन् २०१६ को डिसेम्बर ३ मा अनुमानित २३ लाख मानिस सडकमा आए । त्यो भनेको कुल जनसंख्याको ४ प्रतिशत हो । त्यसलगत्तै पार्कविरुद्ध महाअभियोग लगाइयो र अहिले उनी कारागारमा छिन् ।
यसरी सन् १९९० को दशकपछिको कोरियाली राजनीतिमा नागरिकहरू राज्यसँगको सम्बन्धका विषयमा थप निर्भीक भए र सरकारहरूलाई जनताको स्वास्थ्य गम्भीर रूपमा लिन बाध्य बनाए । त्यसको सबभन्दा स्पष्ट उदाहरण सार्वजनिक यातायात, ऊर्जा र स्वास्थ्य सेवा हो ।
औसत व्यक्तिका लागि यी दैनिक सेवाहरूको उपभोग गर्न पाउने अधिकार सबै नागरिकमा निहित छ र यिनलाई सञ्चालन गर्न करदाताको रकम उपयोग गरिन्छ । यी सार्वजनिक सेवाहरू सरकार आफ्नो जनताप्रति कति प्रतिबद्ध छ भनी जाँच्ने स्पष्ट मापदण्ड हुन् । सार्वजनिक सेवाको गुणस्तर वृद्धि गर्न वा तिनलाई व्यवस्थापन गर्न नसक्ने सरकारले अर्को चुनावमा जनमत गुमाउने पक्कापक्की हुन्छ ।
सार्वजनिक सेवाप्रतिको यो संवेदनशीलता तथा सरकारलाई उत्तरदायी बनाउनका लागि जनताले देखाएको सक्रियताले गर्दा नै विगत २० वर्षदेखि दक्षिण कोरियाको सार्वजनिक सेवा सुधारिएको हो ।
यसले गर्दा निजीकरण स्वीकार गर्न पनि गाह्रो हुन्छ । निजीकरण त समुदायलाई व्यक्तिभन्दा माथि राख्ने कोरियाली संस्कृतिको विपरीत छ नै त्यसमाथि सरकारकै मातहतमा सेवाहरूमा सुधार आइरहेको छ भने निजी कम्पनीहरूलाई सार्वजनिक सेवा बेच्नु तर्कसंगत समेत नहुने धेरैको धारणा छ ।
कोरियालीहरूले विश्वस्तरीय सार्वजनिक सेवा हुनु भनेको बढी लोकतान्त्रिक तथा बढी पश्चिमा हुनु हो भनी वर्षौंसम्म सोचिरहे । धेरैलाई पश्चिममा निजीकरण व्यापक मात्रामा बढिरहेको र सार्वजनिक सेवा बाहिरतिर पठाइएको (आउटसोर्सिङ) का बारेमा थाहै थिएन ।
कोरोनाभाइरस संकटले युरोपलाई तहसनहस बनाएपछि चाहिँ कोरियालीहरूमा रहेको त्यो आदर्श छवि भत्किएको छ । धेरैजसो कोरियालीहरूले वर्षौंदेखि संघर्ष गरेर उपलब्ध भएको कोरियाली मोडललाई अहिलेको संकटले सही साबित गरेको भन्ने ठानिरहेका छन् । यो सोच लामै समयसम्म कायम रहिरहने देखिन्छ ।
द गार्डियनमा प्रकाशित ताए हून किमको आलेख
लोकान्तरका लागि अनुवाद : विन्देश दहाल