काठमाडौं, १० वैशाख – धूलो, धूवाँ, हिलो, अव्यस्थित सडक र असरल्ल छरिएका बिजुलीको तारले काठमाडौं कुरूप भएको छ । यहाँको वातावरण उकुसमुकुसमय छ । मुलुकको राजधानी काठमाडौं शहर फोहरमाडौंमा परिणत भएको छ ।
मेलम्चीको खानेपानी काठमाडौं ल्याउनुअघि पूर्वाधार तयार गर्ने भन्दै पाइप विस्तार गर्ने काम चलिरहँदा काठमाडौंका अधिकांश सडकमा खाल्डा पारिएको छ ।
खाल्डा खन्ने तर नपुर्ने गर्नाले घाम लाग्दा धूलो उड्ने अनि पानी पर्दा धान रोपाइँको जस्तो हिलो जम्ने समस्याले राजधानीवासी आजित छन् ।
मेलेम्चीको खानेपानीको लागि पाइप बिछ्याउने भन्दै सडक खन्नाले काठमाडौंमा ट्राफिक जाम पनि बढेको छ । राजधानीको सडकमा मास्क नलगाई निस्कन सक्ने अवस्था छैन ।
पाइप बिछ्याउने काम छिटो सम्पन्न गर्नुपर्ने, खाल्डा खनेपछि तत्काल पुर्न पहल गर्नुपर्ने सरकारी अधिकारी चाहिँ फतौरे गफमा बढी केन्द्रित देखिन्छन् ।
खानेपानी तथा सरसफाइ मन्त्रालयका जिम्मेवार अधिकारी सामाजिक सञ्जालमा चाहिने भन्दा नचाहिने ट्वीट गरेर र फेशबूकमा स्टाटस लेखेर बसिरहेका भेटिन्छन् ।
समस्यालाई चाँडो सुल्झाउनुको साटो खानेपानी तथा सरसफाइ सचिव भीम उपाध्याय सामाजिक सञ्जालमा फतौरे गफमा बढी नै व्यस्त भेटिएका हुन् ।
कर्मचारीहरू फेसबुकमा झुण्डिन थालेपछि सिंहदरबारभित्र फेसबूक नचल्ने बनाएको चार वर्ष पुग्यो । तर बच्चैदेखि लागेको बानी, जे गर्दा पनि नजानी भनेजस्तै आजभोलि सरकारी कर्मचारीहरू ट्विटरमा झुण्डिएर बसिरहेका हुन्छन् ।
सबैभन्दा बढी ट्वीटमा झुण्डिने सचिवमा उपाध्याय पर्छन् ।
सचिव उपाध्यायसँग फोन सम्पर्क हुन सकेन भने ट्विटरमा छुस्स म्यासेज पठाए मात्र पुग्छ । उनी तत्काल जवाफ फर्काइहाल्छन् ।
सामान्यतया सरकारी कर्मचारी आफ्नै काममा व्यस्त हुनुपर्ने हो । सामाजिक सञ्जालमा सानातिना टिप्पणी गरेर बस्नु कर्मचारीको आचारसंहिता, कर्तव्य र मर्यादाभित्र पर्दैन ।
तर नेपाल सरकारका सचिव उपाध्याय चाहिँ ‘महान् ट्विटे’ कै रूपमा परिचित छन् । उनले दिनमा कम्तीमा एक दर्जनको हाराहारीमा ट्विट र रिट्विट गर्छन् । हरेक कुरामा प्रतिक्रिया जनाउँछन् ।
उपाध्याय कहिलेकाहीँ त सानातिना, अर्थहीन र फतौरे गफमा पनि ट्वीट, रिट्वीट गरेर बसिरहेका भेटिन्छन् । कार्यालय समयमा पनि उनका ट्वीट टाइमलाइनमा फुत्त झर्छन् ।
कहिलेकाहीँ सरकारकै कर्मचारी भएर पनि सरकारलाई नै सुझाव दिने वा नीतिगत विषयमै असहमति जाहेर गरेर पनि उनी ट्वीट गर्न भ्याउँछन् । उनका ट्वीटका वर्षा देख्दा लाग्छ, उनलाई ‘ट्वीटमेनिया’ (ट्वीटरमा चुर्लुम्म डुब्ने व्यक्ति) भएको छ ।
अप्रिल १० (गएको चैत २८ गते) उपाध्यायले ट्वीटेका छन्, — ‘नेपाल राजनीतिकर्मी, वकिल र सामान्य प्रशासकहरुका निम्ति स्वर्ग छस विज्ञ प्राविधिज्ञ पेशाविद् वैज्ञानिक र आविष्कारकहरुका निम्ति स्थानशून्य छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव रहेका उनले मेलम्चीले काठमााडौंमा निम्त्याएका समस्याका बारेमा समेत अनावश्यक टिप्पणी गरेका भेटिन्छन् ।
केही समय पहिले मेलम्चीले गर्दा काठमाडौंमा सासै फेर्न गाह्रो भएको भन्दै पत्रकार गुणराज लुइँटेलले लेखेको टुइटमा उपाध्यायले तल्लो स्तरको प्रतिक्रिया दिएको पाइयो । ‘सर्जरी गर्दा अलिअलि रगत आउँछ,’ भनेर जवाफ फर्काएका थिए उपाध्यायले ।

उनले अप्रिल १२ र १३ को २२ घण्टाको अवधिमा २२ वटा ट्वीट (घण्टामा एउटा) गरेका छन् । केही आफैंले लेखेका छन् भने केही चाहिँ रिट्वीट गरेका छन् । अप्रिल ११ मा १७ वटा ट्वीट गरेका छन् भने अप्रिल १० मा १३ वटा ट्वीट गरेका छन् ।
उनले पछिल्लो २० घण्टामा १६ वटा ट्वीट गरेका छन् । उनी सामाजिक सञ्जाल फेसबूकमा पनि उत्तिकै सक्रिय छन् ।
सिंहदरबारभित्र फेसबूक बन्द गरिएको भएपनि उनले चोरबाटो प्रयोग गरेर फेसबूक समेत प्रयोग गरिरहेका हुन्छन् । शायद उनी मोबाइलबाट फेसबूक वा ट्वीट चलाउँछन् ।
काठमाडौं धूलो र हिलोले दिनदिनै आक्रान्त बनिरहेका बेला उनले काममा भन्दा ज्यादा ट्वीटरमा ध्यान दिएको जस्तो भान हुन्छ । उनी हरेक दिन १५ देखि २० को हाराहारीमा ट्वीट तथा रिट्वीट गरेर बसेका हुन्छन् ।
‘काम पनि गरेको छु, ट्वीट पनि चलाएको छु’सचिव उपाध्यायले फेसबूक, ट्वीटर चलाएर सचिव बस्यो भनेर गरिने आलोचना र टीकाटिप्पणीको अर्थ नभएको बताए ।
‘मानिसहरू मलाई काम पनि गरेको छ, फेसबूक, ट्वीटरमा सूचना दिन्छ, कसरी समय मिलाएको होला पो भन्नुपर्ने त,’ उनले लोकान्तरसँग भने, ‘मान्छेको जात भनेको जसरी पनि विरोध गर्न चाहन्छ ।’ उनले यस प्रसंगमा गधाको कथा पनि स्मरण गराए ।
‘गधामा चढ्यो भने गधालाई दुःख दियो भन्ने र गधालाई डोहो–यायो भने चाहिँ कस्तो उल्लु रहेछ गधालाई पनि डोहो–याएको छ भन्ने प्रवृत्ति गलत हो,’ उनले भने ।
उनले आफूले निःशुल्क घरदैलोमै सूचना पु–याइरहेको बताए ।
‘बोल्दै नबोली बस्ने सचिवले काम गरिरहेको छ भनेर कसरी विश्लेषण गर्ने ? बोल्दै नबोलेर बस्यो भने काम गरेको छ भनेर भन्न त पक्कै मिल्दैन,’ उनले भने, ‘मान्छेले भट्टीमा मात्रै दारु पिउँदैन । घरमा पनि पिइरहेको हुन्छ । तर घरमा पिएको देखिएन भने उसले दारु खाँदैन भनेर बुझ्नु हुँदैन ।’
उनले आफूले काम छल्न वा कुनै आयआर्जनको लागि फेसबूक, ट्विटर नचलाएको बताए ।
‘मैले एउटा रिपोर्ट लेखें भने एकै दिनमा एक लाख रुपैयाँ कमाउँछु, सामाजिक सञ्जाल चाहिँ जनताको लागि चलाएको हुँ’ उनले थपे, ‘बरू तपाईं भन्नुहोस् कुन चाहिँ सचिवले मैलै जत्तिकै काम गरिरहेको छ ?’
सामाजिक सञ्जालमा सक्रिय भएको विषयलाई ‘इस्यु’ बनाउन नहुने उनको भनाइ छ ।
प्रतिप्रश्न गर्दै उनले थपे, ‘मेरो मन्त्रालयमा कुन चाहिँ काम भएन ? त्यसको बारेमा जानकारी गराउनुहोस् ।’
आफू सामाजिक सञ्जालमा निकै सक्रिय भएको कारण मातहतका कर्मचारीहरू सतर्क हुने गरेको उनले बताए ।
उनका अनुसार काठमाडौंमा मेलम्चीको पाइप बिछ्याउनका लागि मूल सडकमा १८ किलोमिटर गहिराइमा खनिएको छ । त्यसमध्ये १२ किमिमा पाइप बिछ्याइएको छ । तर १२ मध्ये सात किलोमिटर जतिमा चाहिँ पिच पनि भइसकेको उनले बताए ।
‘हामीले पिच पनि तत्कालै गरिहाल्ने हिसाबले काम गरिरहेका छौं तर पानी परिरहेको कारणले समस्या भएको हो,’ उनले थपे, ‘पानी पर्नु भनेकै पिच गर्न नपाउनु हो ।’
आउँदो जेठ मसान्तसम्ममा चाहिँ १८ किलोमिटर सबै क्षेत्रमा पाइप पनि बिछ्याउने र पिच पनि गरिसक्ने उनको दाबी छ । तर मुख्य सडकबाहेकको क्षेत्रमा केही ढिला हुनसक्ने उनले बताए ।
उपाध्यायका अनुसार मेलम्चीको पानीले मात्रै धूलो धूँवा गरायो भन्नु गलत हो । मेलम्चीसहित सडक, नगरपालिका, टेलिकम लगायतका निकायले यही बेलामा सडकमा काम गरिरहेकोले धूलो, धूवाँ बढी भएको उनको भनाइ छ ।