३० जेठ २०८३, शनिबार

नेपाल–भारत सीमामा लुकीछिपी आवतजावत, कोरोना संक्रमण फैलिने ‘मुख्य चुनौती’

बैशाख १, २०७७
नेपाल–भारत सीमामा लुकीछिपी आवतजावत, कोरोना संक्रमण फैलिने ‘मुख्य चुनौती’

विभिन्न प्रदेशमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएपनि ५ नम्बर प्रदेशमा कोरोना भेटिएको छैन । लकडाउनको ३ हप्ता अर्थात् २१ दिन पुग्दा प्रदेशमा तेस्रो देशबाट आएका व्यक्तिबाट कोरोना भेटिएको छैन ।

तेस्रो मुलुकबाट आएका व्यक्तिबाट संक्रमण फैलिने समय करीब सकिएकाले अब प्रदेशको मुख्य जोखिम भारतसँगको खुला सीमा नै देखिन्छ । ५ नम्बर प्रदेशका ६ जिल्लाको ३५० किलोमिटर क्षेत्र भारतसँग जोडिएका छ । नेपालसँग जोडिएका भारतका जिल्लामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकरप्रसाद चौधरीले अबको प्रमुख जोखिम नै भारत रहेको बताए । ‘भारतबाट केही व्यक्तिहरू अझै पनि लुकीछिपी नेपाल प्रवेश गरिरहेका छन्, तिनीहरूलाई रोक्नुमा नै अब हाम्रो ध्यान जान आवश्यक छ,’ चौधरीले लोकान्तरसँग भने, ‘भारतमा दोस्रो चरणबाट तेस्रो चरणमा कोरोना प्रवेश गर्दैछ । जुन नेपालका लागि पनि खतराको घण्टी बज्नु हो । अबको बल सीमामा कडाइ गर्नु नै हो । हामीलाई प्रत्यक्ष असर भारतले पार्छ ।’

सीमानाका बन्द गरिएपनि मालबाहक गाडी भारतबाट आइरहेका छन् । सीमाबन्द गरिएको छैन । कुनै न कुनै रुपमा भारतबाट मानिसहरू आइरहेका छन् ।

प्रदेशमा क्वारेन्टाइनमा रहेकाहरूलाई र्‍यापिड (आरडीटी) मार्फत् चेकजाँच पनि चलिरहेको छ । क्वारेन्टाइनमा २ हजार ५०५ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म ७०६ जनाको जाँच गरिसकिएको छ । जाँच भएका कसैमा पनि कोरोना ‘पोजेटिभ’ देखिएको छैन ।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नरबहादुर केसी भारतसँग जोडिएका नाकादेखि अन्य ठाउँमा कडाइ गरिएको बताए । ‘प्रदेशको भारतसँग ३५० किलोमिटर क्षेत्र जोडिएको छ । त्यसमा २७ वटा ठूला नाकाहरू छन् । तीबाहेक अन्य बस्ती जोडिएका गाउँठाउँमा पनि हाम्रो गस्तीदेखि कडाइ गरिएको छ,’ केसीले भने, ‘सीमामा मात्रै हाम्रो नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ७ हजारलाई परिचालन गरिएको छ । कतैबाट लुकेर नेपाल प्रवेश गर्नुहरूबाट नै हामीलाई चुनौती छ । नाकाबाहेक अन्य सम्भावित ठाउँमा पनि पोस्ट राखेर प्रहरी परिचालन गरेका छौं ।’

भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने गरेका व्यक्तिलाई नेपालबाट भारत जानेलाई नेपालको क्वारेन्टाइन र भारतबाट नेपाल आउनेलाई भारतकै क्वारेन्टाइनमा राख्ने गरिएको प्रहरीले जनाएको छ । हालसम्म नेपालमा १२ जनामा कोरोना संक्रमण भेटिएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले कोरोना भाइरसका नयाँ–नयाँ लक्षण देखिएकाले अब क्वारेन्टाइनमा बस्ने समय २ हप्ता नभएर ४ हप्ता बनाउनुपर्ने बताए । ‘हामी अब ५ नम्बर प्रदेशमा हवाईजहाजबाट आउनेहरूको संक्रमणबाट जोगिएका छौं । अब हामी भारतबाट लुकीछिपी पैदल हिँडेर नेपाल प्रवेश गर्नेहरूबाट जोगिनुपर्‍यो/उनीहरूको प्रवेशलाई रोक्नुर्‍यो । नत्र हामीलाई भारतमा फैलिने क्रम बढ्दा हामीलाई जोखिम घटेको मान्न सकिँदैन,’ डा. खनालले लोकान्तरसँग भने, ‘कोरोना फैलिन सरकारले मात्र रोक्न सक्दैन । सरकार र सरोकारवाला सचेत हुनुपर्छ ।’ रुपन्देहीको मर्चवार नजिकै भारतको कोल्हुई बजारमा कोरोनाका ६ जना बिरामी भेटिएका छन् । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले हालसम्म ८० जनाको स्वाब जाँच गरिएको बताए । त्यसमा कसैको पनि रिपोर्ट पोजेटिभ नदेखिएको उनले जानकारी दिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई बुटवलमा रहेको नेसनल प्याथ ल्याबले पनि आफ्नो मेसिन उपलब्ध गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्