
ढोरपाटन नगरपालिका– १ की गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरी पोखरा पठाइएको छ ।
पाठेघरभन्दा बाहिर गर्भ बसी पाठेघरको नली फुटेको अवस्थामा सोमबार बिहान ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएकी ३३ वर्षीया भीमा पाण्डेलाई हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको डाक्टर मिलन मल्लले जानकारी दिए ।
पाठेघरको नली फुटेपछि अत्यधिक रक्तश्राव भएकाले एम्बुलेन्समा बाग्लुङ लैजान सम्भव नभएपछि बडिगाड गाउँपालिकाको कार्यालयबाट उद्धार गरी उनलाई पोखरा पठाइएको हो ।
साढे १ महिनाको गर्भ रहेकी पाण्डेलाई जिल्ला प्रशासन कार्यालय बाग्लुङको समन्वयमा ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी २०७५’ अनुसार हेलिकप्टरबाट नि:शुल्क उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख गौलोचन शैजुले जानकारी दिए ।
कार्यविधि अनुसार लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्ताश्राव भएको, रक्त अल्लपता भएका दुर्गम हिमाली र पहाडी ३४ जिल्लाका महिलालाई नि:शुल्क हवाई उद्धार गरिन्छ ।
यो कार्यविधिमा उल्लेख भएअनुसार गण्डकी प्रदेशका बाग्लुङ, म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाका गर्भवती तथा सुत्केरी महिलालाई सरकारले नि:शुल्क उद्धार गर्ने गरेको छ ।