
विक्रम संवत्को वर्ष २०७६ सकिएर नयाँ वर्ष २०७७ को आगमन भएको छ । २०७६ मा केही महत्त्वपूर्ण राजनीतिक घटनाक्रम भए भने केही दुःखद् घटना भए ।
गएको वर्षमा देशले केही चर्चित व्यक्तित्वलाई गुमाउनु पर्यो । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका बहालवाला सांसद दुर्गाप्रसाद उपाध्यायको फागुन ३ गते निधन भयो ।
क्यान्सरको उपचार गरिरहेका उपाध्यायको उपचारकै क्रममा निधन भयो ।
प्रदेश ५ प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जेष्ठ सदस्यको हैसियतमा प्रदेश सांसदहरूलाई शपथ खुवाउने बलदेव शर्मा पोखरेलको माघ ६ गते निधन भयो । उनी मधुमेहको बिरामी थिए ।
नेकपाका नेता पूर्व शिक्षामन्त्री धनीराम पौडेलको २०७६ जेठ ३१ गते हृदयाघातका कारण निधन भयो ।
यस्तै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री पूर्णकुमार शेर्माको २०७६ फागुन २८ निधन भयो । फागुन २० मा झापाका पूराना वामपन्थी नेता एवं पूर्व सांसद धर्मप्रसाद घिमिरेको निधन भयो ।
नेकपाका नेता एवं पूर्व सांसद हरि बैरागी दाहालको असोज ३ गते हृदयाघातका कारण निधन भयो । उनी साना जलविद्युत् उत्पादक संघको संस्थापक अध्यक्ष समेत थिए । फागुन ६ गते नेपाली कांग्रेसका पूर्व सांसद भागवत ज्ञवालीको निधन भयो ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको मंसिर ३० गते निधन भयो । नेपालको सिनेमाको विकासमा योगदान पुर्याएका भट्टराईको हृदयाघातका कारण ५२ वर्षमा निधन भयो ।
साउन ३० गते वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भयो ।
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक समेत रहेका दुर्गानाथ शर्माको माघ २२ गते निधन भयो । शर्माले सञ्चालन गरेको विश्व घटना नामक टेलिभिजन कार्यक्रमका चर्चित थियो ।
नेपाल टेलिभिजनकै अर्का पत्रकार राजेन्द्रदेव आचार्यको असोज १९ २०७६ मा निधन भयो ।
नेपालसँग साइनो रहेका भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराज र नेपालमाथि भारतले नाकाबन्दी लगाएको समयमा भारतको संसद्मा विरोध गर्ने भारतीय राष्ट्रवादी कांग्रेसका नेता डीपी त्रिपाठीको पनि यसै वर्ष निधन भयो ।