
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले आफ्नो सरकारले कोरोनाभाइरस संकटका लागि पूर्वतयारी गर्न नसकेको भन्दै माफी मागेका छन् । उनले मे ११ सम्मका लागि लकडाउन अवधि बढाएको घोषणा पनि गरेका छन् ।
मार्च १७ देखि लगाइएको लकडाउन अब थप कडा बनाइने उनले बताए । त्यसपछि खुशीका दिन आउने उनको भनाइ छ ।
राष्ट्रपति भवन एलिजी प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै म्याक्रोंले भने, ‘हामीहरूले आफ्ना प्रयास जारी राख्नुपर्छ र नियम लागू गराइरहनुपर्छ । नियमको सम्मान जति गरिन्छ, त्यति बढी जीवन जोगाउन सकिन्छ । त्यसैले मे ११ सम्मका लागि कडा प्रतिबन्ध कायम रहनेछ ।’
‘यस्तो अवधिमा प्रभावकारी हुने भनेकै यही उपाय हो । भाइरसलाई फैलिन नदिनका लागि यो शर्त पालन गर्नैपर्छ अनि स्वास्थ्यकर्मीहरूलाई आफ्नो शक्ति पुनः आर्जन गर्नका लागि सहयोग गर्नुपर्छ ।’
म्याक्रोंले मास्क र सुरक्षा जेलको आपूर्तिमा समस्या भएको र स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा उपकरण उपलब्ध गराउन नसकेको स्वीकार गरे ।
‘गल्तीहरू गरिए,’ उनले भने ।
‘हामीले पर्याप्त तयारी गरेका थियौं त ? अहँ, थिएनौं । यति ठूलो संकटका लागि कोही पनि तयारी अवस्थामा हुँदैन ।’
मे ११ मा आफूहरू लक्षण देखिएका सबै मानिसको स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्थामा हुने म्याक्रोंले बताए ।