२९ असार २०८३, सोमबार

के चीनले उत्तर कोरियामाथि आक्रमण गर्ला ?

के चीनले उत्तर कोरियामाथि आक्रमण गर्ला ?
उत्तर कोरियाको संकट समाधानका लागि अमेरिकाले चीनमाथि दबाब बढाउँदै लगेपछि यथास्थिति कायम नरहने संकेत देखिएको छ । उत्तर कोरियामा युद्ध भएमा सीमा जोडिएका कारण शरणार्थीहरूको ओइरो आफ्नो देशमा लाग्ने अनि अमेरिका पनि छिमेकमै डेरा जमाउन आइपुग्ने भएकाले चीनले अहिलेसम्म उत्तरलाई सहयोग गरिरहेको थियो । तर स्थितिले पल्टा खाने लक्षणहरू देखिँदैछन् ।

चिनियाँ सेनालाई उच्च सतर्क स्थितिमा राखिएको बताइएको छ । उत्तर कोरियामा जे स्थिति आएपनि त्यसका लागि चीन तयार रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । चीनको विदेश मन्त्रालयले बमवर्षक विमानलाई तयारी अवस्थामा राखेको स्वीकार गरेपनि थप जानकारी दिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका आणविक भट्टीहरूमा आक्रमण गर्ने लगातार धम्की दिएकाले चीन प्रतिरक्षात्मक स्थितिमा पुगेको अनुमान गरिएको छ ।
प्योङयाङको कम्युनिस्ट सरकारको परम्परागत साझेदारका रूपमा रहेको बेइजिङले अमेरिकी आक्रमणबाट उत्तरलाई अहिलेसम्म जोगाइरहेको छ । उसले अमेरिकालाई उत्तरविरुद्ध एकपक्षीय सैन्य कारवाही नगर्न खुल्ला आह्वान गरेको छ ।

बेइजिङले कोरियाली प्रायद्वीपको संकटको कूटनीतिक समाधानका लागि अमेरिकालाई खुल्ला आह्वान गरिरहेको छ । अमेरिकाको उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाविरुद्ध ‘तरवार तयार रहेको’ चेतावनी दिएका थिए भने उत्तरले ‘अमेरिकालाई खरानी बनाइदिने’ धम्की दिएको थियो ।

चीनले कूटनीतिक समाधानको आग्रह गरेपनि ऊ उत्तर कोरियाबाट वाक्कदिक्क भइसकेको प्रस्ट छ । आफ्नो सिमानामा उत्तर कोरियाका किम जोङ–उनले ‘अस्थिरताको केन्द्रविन्दु’ निर्माण गरेकोमा चीन चिन्तित छ ।

अप्रिल महिनाको शुरुवातमा चिनियाँ सरकारी सञ्चारमाध्यमले एउटा सम्पादकीय लेख्दै उत्तर कोरियाविरुद्ध चीनले स्थिरता र सुरक्षाका लागि आफैं सैन्य आक्रमण गर्नका लागि बाध्य हुने चेतावनी दिएको थियो ।

चीनले उत्तर कोरियासँग बलियो ऐतिहासिक सम्बन्ध कायम गरेको छ । सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्धमा चीनले उत्तरको पक्ष लिएको थियो र अमेरिका तथा दक्षिण कोरियाको हातबाट पराजित हुन उत्तरलाई जोगाएको थियो ।

चीन त उत्तर कोरियाको महत्त्वपूर्ण व्यापारिक साझेदार पनि हो र पश्चिमले दशकौंसम्म लगाएको आर्थिक नाकाबन्दीमा बाँच्न उत्तरलाई चीनले सहज बनाएको थियो ।

तर हालैका वर्षमा यो रणनीतिक सम्बन्ध बिग्रेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तरमा किमले शासन सम्हालेपछि उनलाई कहिल्यै भेटेका छैनन् । आणविक हतियारको मुद्दामा चीन र उत्तर कोरियाले सहमति नराख्ने पनि प्रस्ट छ ।

उत्तर कोरियाले आणविक हतियार र क्षेप्यास्त्र प्रविधि नत्याग्ने दाबी गर्दा प्योङयाङलाई बेइजिङले आधिकारिक रूपमा निन्दा गरेको छ । अन्तर्राष्ट्रिय समुदायले आणविक हतियारयुक्त उत्तर कोरियालाई कहिल्यै नस्वीकार्ने चीनको भनाइ छ ।

चीनको विश्वव्यापी रणनीतिक स्वार्थलाई पनि उत्तर कोरियासँगको सम्बन्धका कारण असर परिरहेको बेइजिङले मूल्यांकन गरेको छ । चीनले उत्तर कोरियासँग सम्बन्ध बनाउनुभन्दा अमेरिकासँग राम्रो आर्थिक साझेदारी बनाउनु महत्त्वपूर्ण हुने निष्कर्ष निकालेको अनुमान गर्न सकिन्छ ।
राष्ट्रपति सीले ट्रम्पसँग निकट तथा व्यक्तिगत सम्बन्ध बनाएको देखिन्छ । अमेरिका भ्रमणमा सीले ट्रम्पसँग डिनर गरेपछि उनीहरूका बीच धेरैवटा फोनवार्ता भइसकेका छन् ।

ट्रम्प प्रशासनले उत्तर कोरियाविरुद्ध कठोर हुनका लागि चीनलाई दबाब दिएको छ र बेइजिङले पनि यसलाई मान्दै उत्तरविरुद्ध कोइला आयात र व्यापारिक हवाई उडानमाथि प्रतिबन्ध लगाएको छ ।

चीनलाई ट्रम्प प्रशासनले उत्तरलाई नियन्त्रणमा लिँदा व्यापारमा छुट दिने शर्त राखेको बताइएको छ । ट्रम्पले चीनप्रतिको धारणा परिवर्तन गर्दै उससँग राम्रो सम्बन्ध बढाउनुमा यही रणनीतिक कारण रहेको बताइन्छ ।

चीनले उत्तरविरुद्ध सैन्य परिचालनको तयारी गरिरहँदा ट्रम्प विश्वस्त देखिएका छन् । हालै उनले पत्रकारहरूलाई सीले उत्तर कोरियाको विषयमा कडा मेहनत गरिरहेको बताएका थिए । त्यो मेहनत भनेको सैन्य परिचालन नै हो ।

चीनले अमेरिकासँगको आर्थिक सम्बन्ध नै उत्तर कोरियासँगको विचारधारात्मक सम्बन्धभन्दा बढी महत्त्वपूर्ण रहेको विचार राखेको देखिन्छ । उत्तर कोरिया स्थिर भए चीनलाई अन्य देशसँग तनाव नहुने तर उत्तर कोरियाले आणविक परीक्षण गरिरहेर यसो हुन नदिएको चीनको निष्कर्ष छ ।
बेइजिङ कोरियाली प्रायद्वीपमा ठूलो द्वन्द्व चाहँदैन र अमेरिकाले प्योङयाङमा आक्रमण गरेमा द्वन्द्व रोकिन्न । अमेरिकाले आक्रमण गरेमा उत्तरले प्रतिक्रियास्वरूप दक्षिण कोरिया र शायद जापानमाथि आक्रमण गर्नेछ र यसको परिणाम भयावह हुनेछ ।

अमेरिकी आक्रमणका कारण प्योङयाङमा सत्ता परिवर्तन पनि हुन सक्छ र अमेरिकीहरूले आफ्नो कठपुतलीलाई त्यहाँको शासक बनाउन सक्छन् । यसो गर्दा चीनले बफर जोनका रूपमा रहेको उत्तर कोरिया गुमाउनेछ ।
त्यसैले घटनाहरूलाई कुर्नुभन्दा चीनले आफैं पहलकदमी गरिरहेको अनुमान गर्न सकिन्छ । चिनियाँ सेनाको परिचालन र बेइजिङले दिएको आक्रमणको धम्कीका कारण दुईवटा परिदृश्य देखिन्छन् ।

पहिलो, अमेरिकाले उत्तर कोरियाको नेतृत्वलाई समाप्त पार्ने गरी प्रिएम्प्टिभ आक्रमण गरेमा चिनियाँ सेनाले तत्कालै सीमावर्ती यालु नदी पार गरेर राजनीतिक शून्यतालाई भर्ने कोशिश गर्नेछ । यसो गर्दा चीनको भूमिमा व्यापक रूपमा शरणार्थीहरू आउने स्थिति रहँदैन र बेइजिङले भनेमुताबिकको सरकार उत्तर कोरियामा बन्नेछ ।

दोस्रो परिदृश्यमा चाहिँ उत्तर कोरियाको वर्तमान स्थिति अत्यन्तै अस्थिर र युद्धोन्मुख भएकाले चीन आफैंले अमेरिकाभन्दा अघि उत्तरविरुद्ध सैन्य कारवाही गर्न सक्छ ।
यी दुवै स्थितिमा धेरै जोखिमहरू छन् र कानूनी तथा नैतिक समस्या पनि छन् । तर आफ्नो रणनीतिक स्वार्थ नै धरापमा परेपछि सुरक्षाका लागि अभूतपूर्व कदम चाल्न चीन तयार रहनु अस्वाभाविक होइन ।

विगतमा चीन बहुपक्षीय क्षेत्रीय वार्ता गरेर उत्तर कोरियाली संकटको समाधान गर्नुपर्ने बताउँथ्यो । तर बुश प्रशासनले यस्ता वार्ताको बहिष्कार ग–यो र त्यसपछि अमेरिका वार्तामा सहभागी छैन । चीनले उत्तर कोरिया र अमेरिका दुवैलाई कोरियाली प्रायद्वीपमा सैन्य परिचालन घटाउने प्रस्ताव पनि गरेको थियो ।

तर अहिले परिस्थिति बदलिएर बेइजिङले उत्तर कोरियाली समस्याको समाधानका लागि खतरनाक उपाय पनि अपनाउने हो कि भनी अनुमान गर्न सकिन्छ ।

स्पुतनिक न्युजमा फिनियन कनिङघमले वैशाख ९ गते प्रकाशन गरेको लेख ‘वुड चाइना स्ट्रइक नर्थ कोरिया?’ को भावानुवाद

अनुवादक : विन्देश दहाल

salt training

कमेन्ट गर्नुहोस्