
तनहुँमा विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका तीन सय ५८ जनालाई र्यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार र मंगलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तहका ८५ वटै वडा वडामा आरडीटी किट पठाएर परीक्षण कार्यलाई तीब्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।
'आरडीटी परीक्षणबाट बढीमा २० मिनेटमा रिर्पोट आउँछ', उनले भने, 'पोजिटिभ आए स्वाब संकलन गरी क्षेत्रीय प्रयोगशाला पोखरामा पठाउने व्यवस्था मिलाइएको छ ।'
बिहीबारसम्ममा जिल्लामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्ने कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको उनले बताए ।
जिल्लामा विभिन्न देशबाट घर फर्किनेको सङ्ख्या सात सय २५ रहेका छन् ।
शनिबार मात्रै छ सय ४२ थान किट आएपछि आइतबारदेखि परीक्षण कार्य अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।
भारतलगायत अन्य विभिन्न देशबाट जिल्ला प्रवेश गरेका सबै व्यक्तिलाई आरडीटी किटबाट कोरोना परीक्षण गर्नेछ ।
उनले भने, 'घरमा तथा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेर चौध दिन पुगेका र २१ दिन ननाघेका व्यक्तिको किटबाट परीक्षण गर्नेछ ।'