
रुपन्देहीमा सञ्चालित ग्रेस फर्मास्युटिकल्स प्रालिले मधुमेह र उच्च रक्तचाप लगायतका विभिन्न औषधि उत्पादन गर्छ तर औषधिका लागि चाहिने कच्चा पदार्थ भारतीय भन्सारमा रोकिएको छ ।
अबको १ हप्तासम्म पनि कच्चापदार्थ भित्रिन नपाए उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।
‘लकडाउनमा पनि अत्यावश्यक वस्तुको आयात नरोकिने सरकारले बताएपनि हाम्रो उद्योगका औषधिजन्य कच्चा पदार्थ भारतमै रोकिए,’ उद्योग सञ्चालक सुरज भट्टराई भन्छन्, ‘भारतीय भन्सारको गोदाममा ‘अनलोड’ भइसकेको सामान भन्सार बन्दाबन्दीले अलपत्र पर्यो । अब औषधि उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आउँदैछ ।’
लकडाउनमा पनि इन्धन, ग्यास र अन्य अतिआवश्यक सामग्री बोक्ने मालबाहक गाडी भारतबाट निर्वाध रुपमा आइरहेपनि औषधिको लागि चाहिने कच्चा पदार्थका गाडी आउन पाएका छैनन् । लकडाउन लामो समयसम्म जाने अवस्था आए औषधिको अभाव हुने देखिएको छ ।
देशकै ठूलो औषधि उद्योग अन्तर्गत पर्ने एसियन फर्मास्युटिकल्स प्रालिको अवस्था पनि उहीँ छ । फर्मास्युटिकल्सका सञ्चालक हुतानन्द खनाल भन्छन्, ‘पहिलेको तुलनामा औषधि खपत न्यून छ तर कच्चा पदार्थ भित्रिन पाएको छैन । उद्योगमा औषधि चाहिँ स्टक छ ।’
बायोगेन रिमेडिजले पनि १० प्रतिशत मात्र उत्पादन गरेको छ । उद्योगका सञ्चालक प्रकाश ज्ञवाली भन्छन्, ‘भन्सार सहज नहुँदा कच्चा पदार्थ भारतमै रोकिए । उत्पादित वस्तुको ट्रान्सपोर्ट छैन । उत्पादनमा धेरै गिरावट आएको छ ।’
रुपन्देहीमा एलोपेथिक र होमियोप्याथिक गरी १२ वटा औषधि उद्योग छन् । जसमा ९ वटा एलोपेथिक मात्रै छन् । एसियन, सिद्धार्थ, बायोगेन रिभिडिज, ग्रेस, एप्पल, युनिर्भसल, कोरल नेपाल रिभाडिज लगायत उद्योग छन् । सिद्धार्थ फर्मास्युटिकल्स प्रालिका गिरीराज पाठक भन्छन्, ‘कच्चा पदार्थ इनपुट रोकिएकाले उत्पादन बन्द हुने अवस्थामा पुगेको छ । चैत १० गतेदेखि कच्चा पदार्थ आउन सकेको छैन ।’
लकडाउन भएपछि औषधि उद्योग १५ दिन बन्द भएका थिए । आपूर्ति व्यवस्थापन विभागले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने भनेपछि उद्योगहरू चल्न थालेपनि फेरि बन्द गर्नुपर्ने बाध्यता आइपरेको छ । औषधि उत्पादकले कच्चा पदार्थका गाडी राज्यले भारतसँग समन्वय गरेर नेपाल ल्याउन दिनुपर्ने माग गरेका छन् ।
रुपन्देहीमा आउने औषधिको कच्चा पदार्थ सबै भारतबाट आउँछ । भारतमा पनि लकडाउन जारी रहँदा भन्सार सहज छैन । मालबाहक गाडी भरी सामान भएका ट्रकको भन्सार गरिएपनि आधा सामान भएका गाडीको भन्सार रोकिँदा औषधि व्यवसायी मारमा परेका हुन् ।
चलेका केही उद्योगमा पनि कामदार जान सकेका छैनन् । गाडी नचल्दा उत्पादित औषधि बाहिरी जिल्लामा जान सकेको छैन । रुपन्ेदहीबाट उत्पादित औषधि ७७ वटै जिल्लामा जाने गर्छ । औषधि उद्योगीले औषधि विभिन्न ठाउँमा पठाउनको लागि टान्सपोर्ट खुलाउनुपर्ने बताएका छन् ।