फ्रान्समा गरिएको एक परीक्षणमा मानिसहरूलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउनका लागि निकोटिन सहायक हुन सक्ने देखिएको छ । यो खतरनाक रोगको रोकथाम वा उपचारमा निकोटिन कत्तिको सहायक हुन्छ भन्ने विषयमा थप परीक्षण गरिँदैछ ।
पेरिसको एक अग्रणी अस्पतालमा कोरोनाभाइरसका ३४३ रोगीहरूमाथि गरिएको परीक्षणपछि यो निष्कर्ष निकालिएको हो ।
तीमध्ये कमैले मात्र धूम्रपान गर्थे जबकि फ्रान्सको कुल जनसंख्यामा करीब ३५ प्रतिशतले धूम्रपान गर्छन् ।
‘ती रोगीमध्ये पाँच प्रतिशत मात्र धूम्रपान गर्थे,’ अध्ययनका सहअध्येता तथा इन्टर्नल मेडिसिनका प्राध्यापक जाहिर अमूराले भने ।
गत महिना न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा पनि यस्तै किसिमको निष्कर्ष सहितको अनुसन्धान छापिएको थियो । त्यसमा उल्लेख भएअनुसार, चीनमा कोरोना संक्रमित भएका एक हजारजाामध्ये १२.६ प्रतिशत धूम्रपान गर्थे । चीनको कुल जनसंख्याको २६ प्रतिशत मानिसले धूम्रपान गर्ने विश्व स्वास्थ्य संगठनको आँकडा छ ।
निकोटिनले कोशिका रिसेप्टरहरूमा टाँसिएर भाइरसलाई कोशिका प्रवेश गरेर शरीरमा फैलिन नदिने अनुमान गरिएको न्युरोबायोलोजिस्ट जँ–पीए शांगले बताए । उनी पनि अध्ययनमा संलग्न थिए ।
अनुसन्धाताहरूले थप परीक्षणका लागि फ्रान्सका स्वास्थ्य अधिकारीहरूको अनुमति कुरिरहेका छन् ।
पेरिसको पिटी–साल्पेत्रिए अस्पतालका स्वास्थ्यकर्मीलाई निकोटिनको प्याच टाँस्ने उनीहरूको योजना छ । त्यसले उनीहरूलाई भाइरस संक्रमणबाट जोगाउँछ कि जोगाउँदैन भन्ने कुरा हेर्न खोजिएको छ ।
अस्पतालमा भर्ना भएका रोगीमा लक्षण कम गर्न निकोटिन उपयोगी छ कि छैन भनेर पनि हेरिएको अमूराले बताए ।