०१ साउन २०८३, शुक्रबार

अध्यादेश र सांसद अपहरण काण्ड : लज्जाजनक काम भन्दै नेकपाकै नेताहरूले मुख फोर्न थाले

बैशाख १२, २०७७
अध्यादेश र सांसद अपहरण काण्ड : लज्जाजनक काम भन्दै नेकपाकै नेताहरूले मुख फोर्न थाले

दल विभाजन गर्न सहज हुनेगरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश र समाजवादी पार्टी विभाजनका लागि सांसदको अपहरण गरेको भन्दै स्वयं नेकपाका नेताहरूले विरोध जनाएका छन् । 

अध्यादेश काण्ड र समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणमा नेकपाका सांसद र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल संलग्न रहेको भन्दै नेताहरूले आक्रोश पोखेका छन् । 

नेकपाभित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीइतरका नेताहरूले यो प्रकरणमा सरकारको जवाफ माग गरेका छन् ।

विवादित अध्यादेश प्रकरणलाई लिएर नेकपाका २० जना स्थायी कमिटी सदस्यहरूले बैठक बोलाउन लिखित हस्ताक्षर समेत गरेका छन् । 

पूर्वगृहमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य भीम रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिद्धान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहोरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद् स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ । यसको छानबिन गरी गैरकानूनी कार्य गर्नेलाई कारवाही हुनुपर्छ ।’

नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले फेसबूक र ट्वीटरमार्फत प्रश्न गरेका छन्, 'दुईतिहाइ बहुमत आफूसँग हुँदाहुँदै अरू पार्टी फुटाउन किन आवश्यक भयो ? कतै ... ?’

नेकपाकै सांसद रामकुमारी झाँक्रीले लेखेकी छन्, ‘मानवीय संकटको यो बेला एकाएक मन्त्रिपरिषद्बाट विवादास्पद अध्यादेश पास गर्नु शीतलनिवासबाट खाम साटेर हिँड्नु, विपक्षी दलका सांसदलाई अपहरण शैलीमा होटलमा राख्नु, अनि बहुराष्ट्रको उद्देश्य पूरा गर्न मधेशवादी दलको एकता, के नेपाली राजनीतिका यी सामान्य घटना हुन् ? यी घटनाको पछाडि कसको हात छ ? खोजौं ।’

झाँक्रीले सोमवार अध्यादेश ल्याएको दिनमै ट्विट लेखेकी थिइन्, ‘कमरेड ! कानूनले पार्टी फुट्न र रोक्न दुवै सक्छ । जसको पार्टी विभाजन गर्ने दुस्वप्न देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो । किनकि आज हामीलाई राजनीतिक एकता चाहिएको छ, विभाजन होइन ।’

नेकपा नेता एवं पूर्वसांसद रामकुमार शर्माले लेखेका छन्, ‘पार्टीलाई छलेर रातारात अध्यादेश पारित गराई सांसद र पूर्वआईजीपी समेतलाई प्रयोग गरी अपहरण शैलीमा लोभलालच र प्रलोभनमा पारी संसद्लाई बाध्य बनाई पार्टी विभाजन गर्ने निक्रिष्ट खेलमा संलग्न सबैको छानबिन गरी दोषीलाई कडा कारवाहीको माग गर्दछु ।’

अध्यादेश प्रकरणमा प्रधनमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ता भने रक्षात्मक देखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्