
विवादास्पद अध्यादेश खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सामुहिक भेटवार्ता गरेका छन् ।
ओली र देउवाबीच करीब एक घण्टा छलफल भएपछि प्रचण्ड बालुवाटार प्रवेश गरेका थिए । त्यसपछि तीन जना नेताको सामुहिक छलफल भएको थियो ।
छलफल वर्तमान समसामयीक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । कोभिड १९ को प्रकोपलाई नियन्त्रण र रोकथामका लगायतका विषयहरूमा कुराकानी भएको थियो ।
सभापति देउवाले विवादित अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । सँगसँगै उनले प्रधानमन्त्रीलाई अपहरण शैलीमा समाजवादीका सांसदलाई उठाएर काठमाडौँ ल्याउनेमाथि अनुसन्धान र कारवाही गर्नुपर्ने माग राखेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै देउवाले कोरोना संक्रमणसँग लड्न व्यापक परीक्षण आवश्यक रहेको र ढिलाई गर्न नहुने भनी प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । उनले स्वास्थ्यकर्मीहरूलाई पीपीई लगायतका सामाजहरू अझै नपुगेको भनी ध्यानाकर्षण गराए ।
बैठकमा देउवाले राहत अधूरो रहेको, श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै व्यवसायीलाई समेटेर राहत प्याकेज ल्याउन देउवाले प्रधानमन्त्रीसमक्ष माग राखेका थिए । देउवा निस्किएपछि ओली र प्रचण्डको द्विपक्षीय कुराकानी भएको थियो ।