
कोरोना संक्रमणपछि उपचाररत बागलुङ कुँडुलेकी १९ वर्षीया युवतीको छैठौं रिपोर्ट नेगेटिभ आएको छ । उनको लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्ज तयारी गरिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले लोकान्तरलाई जानकारी दिए ।
उनले भने, ‘रिपोर्ट नेगेटिभ पछि उनको पनि आजै घर फर्किने चाहना छ, केहीबेरमा डिस्चार्ज तयारी गरिएको छ ।’
बुधवार र बिहिवाराको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको हो । उनको लगातार चौंथो पटकसम्म पोजिटिभ देखिएको थियो । उनी राजधानी बाहिर कोरोना संक्रमित हुनेमध्ये पहिलो व्यक्ति हुन् ।
उनी चैत १४ देखि धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचाररत थिइन् । उनीसँगै उपचाररत ६५ वर्षीया वृद्धा यसअघि नै कोरोना नेगेटिभ आएपछि डिस्चार्ज भैसकेकी छिन् । लगातार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि मात्रै कोरोना नभएको पुष्टि हुने जिल्ला स्वास्थ्य अधिकृत सुरज गुरौले जनाए ।
उनीहरु दुवैजना चैत ४ गते कतार एयरवेजमार्फत बेल्जियमबाट नेपाल आएका थिए । गण्डकीमा हालसम्मको पीसीआर टेष्टमा ५ सय ६४ मध्ये ५ सय ४० जनाको नेगेटिभ आएको छ । २ जनाको पोजिटिभ आएकोमा २२ जनाको बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।