
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन) फितलो बन्दै गएको छ ।
गत चैत्र ११ गतेदेखि शुरू भएको लकडाउन पटक–पटक थप गर्दै वैशाख १५ गतेसम्म लम्ब्याइएको छ ।
लकडाउन लम्बिँदै गएपछि दैनिक ज्यालादारी काम गर्ने मजदुर तथा राजधानीबाट घर फर्किने सर्वसाधारणको लर्को छ । मंगलवारदेखि राजधानी बाहिर जाने नाका कलंकी र कोटेश्वरमा यात्रुको भीड दशैैंको समयमा जस्तै देखिएको छ ।
दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीका स्थानीय तहले आफ्नो क्षेत्रका सर्वसाधारणलाई बस रिजर्भ गरेर यात्रु ओसार्न थालेपछि मंगलवार कोटेश्वर–लोकन्थली क्षेत्रमा जाम परेको थियो ।
मंगलवार एक पटक हजारौं यात्रुले उपत्यका छाडेका थिए । बुधवार कोटेश्वर क्षेत्रमा जम्मा भएकालाई भने प्रहरीले फिर्ता पठाएको थियो । मंगलवारपछि शुक्रवार फेरि कलंकी र कोटेश्वरमा यात्रुको भीड लागेको थियो ।
शुक्रवार साँझ कलंकी र कोटेश्वर क्षेत्रमा प्रहरीले माइकिङ नै गरेर यात्रुलाई ट्रक तथा बसमा राखेर गन्तव्यमा पठाएको थियो । यसअघि सर्वसाधारण काठमाडौं बाहिर जान खोज्दा नदेखेझै गर्ने प्रहरीले माइकिङ गरेरै ट्रकमा हालेर पठाएको थियो ।
‘धनगढी जाने कोही हुनुहुन्छ भने आउनुस्’ प्रहरीले माइकिङ गरेर बोलाएपछि एकहुल सर्वसाधारण ना८ख ५६३ नम्बरको ट्रकमा चढे ।
‘अलपत्र यात्रुलाई गाडीमा हालेर पठाउन सहजीकरण गरिरहेका छौं,’ कोटेश्वर जडिबुटी क्षेत्रमा खटिएका एक प्रहरी अधिकारीले भने । यसबारे प्रहरी अधिकारी औपचारिक रुपमा बोल्न चाहँदैनन् ।
‘मन्त्री, सांसद र प्रभावशाली नेताहरूले समन्वय गरेर पठाएका गाडी हामीले रोक्न सकेका छैनौं, न त बाहिरिएका यात्रुको संख्या राख्न सकेका छौं,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले लोकान्तरसँग भने । मन्त्री र सांसदहरूले स्थानीय तहसँग समन्वय गरेर आफ्नो जिल्लाका अलपत्र नागरिकलाई गन्तव्यमा पठाउने काम गरेका छन् ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेर एक क्षेत्रबाट अर्को क्षेत्रमा आवतजावत गर्न प्रतिबन्ध लगाएको थियो । लकडाउनका कारण सार्वजनिक यातायात नचलेपछि मजदुरहरू सयौं किलोमिटर पैदल यात्रा गरेर हिँडेका थिए ।
अन्तर्राष्ट्रिय हवाइ उडान र सीमानाका बन्द कायम राख्दै वैशाख १५ गतेपछि लकडाउनको स्वरुप फेर्नेबारे सरकारी संयन्त्रमा छलफल भइरहेको छ । उपप्रधान एवं रक्षामन्त्री संयोजकत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक शनिवार बस्दैछ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमित बिरामी नरहेका कारण उपत्यकामा लकडाउन केही खुकुलो बन्न सक्ने संकेत सरकारी संयन्त्रले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै पाटन अस्पतालमा उपचारत ८१ वर्षीया महिला निको भएसँगै काठमाडौं उपत्यका कोरोना संक्रमित बिरामीमुक्त भएको घोषणा गरेका थिए ।
लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको भन्दै निजी क्षेत्रले लकडाउन खुकुलो बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।