०७ साउन २०८३, बिहीबार

पर्यटकीय सहर पोखरामा धमाधम 'सेनिटाइज टनेल'

बैशाख १४, २०७७
पर्यटकीय सहर पोखरामा धमाधम 'सेनिटाइज टनेल'

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले धमाधम स्वचालित सेनिटाइज टनेल जडान गरेको छ । आइतबार शान्तिवनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइज टनेल जडान गरियो ।

कोरोना महामारीले विश्व नै आक्रान्त बनेको बेलामा पूरै शरीर सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइज टनेल बनाएर महानगरले कृषि बजार उपजलाई हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख मानबहादुर जिसीले कृषि बजार उपजको बजार व्यवस्थापन समितिलाई टनेल आइतबार हस्तान्तरण गरेका हुन् ।

प्रमुख जिसीले कृषि बजार उपजमा पनि मानिसका भीडभाड हुने भएकाले कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न महानगरले टनेल जडान गरेको बताए । कोरोनाको महामारी लम्बिन सक्ने भएकाले प्रविधिबाट यसलाई नियन्त्रण गर्नपर्ने बताए ।

उनले भीडभाड हुने सरकारी कार्यालयहरु, अस्पतालहरु, डिपार्टमेन्ट स्टोर्स लगायतमा पनि टनेल जडान गर्नुपर्ने बताए । कोरोनाको थोकथाममा दीर्घकालीन योजना बनाएर जानुपर्ने सोच महानगरले बनाएको जिसीले बताए ।

कृषि बजार उपज बजार व्यवस्थापन समितिका अध्यक्ष छेबाङ लामाले महानगरले कृषि बजारलाई महत्व दिएर टनेल जडान गरिदिएकोमा महानगरप्रति आभार व्यक्त गरे ।

पोखरा विश्वविद्यालयको नेपाल इनोभेसन टेक्नोलोजी एन्ड इन्टरप्रेनियरसिपका रवि भण्डारी, विनोद भट्टराई, विनोद गिरी, सरोज कोइरालाले टिमले टनेल निर्माण गरेका हुन् । पोखरा महानगरले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि टनेल जडान गरिसकेको छ ।

हाल पोखरा महानगर कार्यालय, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा पोखरा प्रवेश गर्ने तनहुँ र कास्कीको सीमाना मजुवामा समेत सेनिटाइज मेसिन जडान भैसकेको छ ।

यसैबीच, महानगरले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या फोन गरेर टिपाउन सक्ने सूचना अधिकारी भरतराज पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्