
लकडाउनका कारण यहाँ सञ्चालित वातावरण सुधार अभियान प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान शुुरु गरिए पनि कोभिड—१९ को संक्रमणपछि जारी बन्दाबन्दीले अभियानको कार्यक्रम रोकिएको हो ।
“आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियालीयुक्त शहरका रुपमा विकास गरिने अभियानको उद्देश्य छ, सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरको टोलटोलका सडक किनारमा रुख रोपेका छौँ ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भने। नगरका अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ नै बाँकी नराखेर बनाइएका सडक, नालाका कारण अभियानले सोचे जस्तो परिणाम दिन सक्ला जस्तो देखिँदैन । “हामी त्यसको पनि कुनै विकल्प खोज्छौँ, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीहरुमा लगाइने छ”, डा राणाको कथन छ ।
अभियानको शुरुआती चरणमा नेपालगञ्ज–सुर्खेत सडकखण्डको राँझादेखि जमुनाहसम्म रुख रोपिएका छन् । त्यस कार्यमा नगरपालिकालाई उद्योग वाणिज्य संघ, ग्रिन नेपाल क्लिन नेपाल, बी—गु्रपलगायत संस्थाले सघाउँदै आएका छन् । बन्दाबन्दी अभियानमा खासै ठूलो घाटा नभए पनि यामअनुसारका बोटबिरुवा लगाउन नसकिने भएको छ ।
बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण, रुखबिरुवाको जथाभावी कटान र सवारी साधनको धुवाँ जस्ता कारण तीन वर्षयता नेपालगञ्जको तापक्रम वृद्धि हँुदै गएको छ । यसबाट नेपालगञ्जमा अत्याधिक गर्मी बढ्दै गएको अनुभूति गरिएको छ । यिनै कुरा दृष्टिगत गरी नेपालगञ्जको हरियाली अभियानमा नेपालगञ्ज उद्योग वाणिज्य संघले सघाएको हो । यसका लागि नगरपालिकालाई सबैखाले सहयोग गर्न तयार रहेको संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले बताए ।
हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था गरे पनि घर निर्माण गर्ने क्रममा यो व्यवस्थालाई त्यति कडाइका साथ नगरपालिकाले पालना गराएको भने पाइँदैन । डा राणा भन्छन्, “यसबारे हामी अध्ययन गरिरहेका छौँ । जसले यसको पालना गर्दैैन, सेवा सुविधाबाट वञिचत गरिने छ । ”
हरियाली अभियानका साथसाथै नेपालगन्जलाई ध्वनिमुक्त गर्ने नीति पनि उपमहानगरपालिकाले तय गरेको छ । नगरमा गुड्ने सवारी साधनमा हर्न बजाउन निषेध गरिएको तथा मन्दिर र मस्जिदबाट माइकमा प्रसारण गरिने आवाज कम गर्न सम्बद्ध पक्षसंँग आग्रह गरिएको छ ।
विवाह, भोजभतेरमा अरुलाई प्रभाव गर्ने गरी डिजे बजाउन जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ । यो निर्णयलाई सघाउन यहाँका मुसलमान धर्मगुरुहरुको बैठकले आफ्नो समुदायको विवाह र अन्य कार्यक्रममा डिजे प्रयोगमा पूर्ण प्रतिबन्ध नै लगाएका छन् । त्यसको आंशिक पालना भएको छ ।
यसैगरी वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । वन कार्यालयको तथ्याङ्कनुसार उपमहानगरपालिका तथा खजुरा र राप्तीसोनारी गाउँपालिका वन कम भएका क्षेत्रमा पर्छन् । कार्यक्रमअन्तर्गत निजी वनलाई प्रवद्र्धन र व्यवस्थित गर्ने, सुर्खेतरोडमा स्थानीय तहको समन्वयमा वृक्षरोपण गर्ने, वृक्ष सुधार, वृक्षरोपण तथा निजी वनलाई थप विस्तार गर्नेलगायत कार्यक्रम छन् ।
कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता संघ, वन क्षेत्र संरक्षण समन्वय समिति, निजी वन सरोकार संघलगायत सरोकार निकायसंँग सहकार्य गरिएको जनाइएको छ । बन्दाबन्दीपछि कार्यक्रमले पुनःनिरन्तरना पाउने गाउँपालिकाका जनप्रतिनिधिले जनाएका छन् । नीरज गौतम,रासस