
कोरोना संक्रमण पुष्टि भएका झापाको बाह्रदशी गाउँपालिकाका ५० वर्षीय पुरुषले लकडाउनअघि एक सातासम्म आफू कार्यरत मदरसामा विद्यार्थीलाई पढाएको खुलेको छ । दोस्रो पटकको पीसीआर परीक्षणमा पोजिटिभ देखिएका उनी मुस्लिम धर्मगुरु हुन् । उनी स्थानीय बाह्रदशी–४ मा रहेको मदरसा दारुल उलुम प्राविका प्रधानाध्यापक हुन् ।
उनी भारतको दिल्लीमा फागुन २४, २५ र २६ मा भएको मुस्लिम धर्मगुरुहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए । फागुन २० मा हिँडेका उनी दिल्ली सम्मेलनमा सहभागी भएर फागुन २८ मा घर फर्किएका थिए । घर फर्किएपछि चैत ११ मा लकडाउन सुरु हुनुअघिसम्म मदरसामा गएर विद्यार्थीलाई पठनपाठन गराएको कोसी कोभिड अस्पतालमा उपचाररत उनले सोमबार टेलिफोनमा कान्तिपुरसँग भने । मदरसामा उनीसहित चार जना शिक्षक कार्यरत छन् । उनका अनुसार मदरसामा आसपासका करिब सय विद्यार्थी अध्ययनरत छन् ।
‘नेपाल र भारतका मुस्लिम जमातीमा समेत संक्रमण देखिन थालेपछि वैशाख ५ गते आरडीटी गराएको थिए,’ उनले भने, ‘आरडीटी रिपोर्ट नेगेटिभ देखिएको थियो ।’ ५ गतेको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनले वैशाख ९ मा स्थानीय ६२ परिवारलाई राहत वितरण गरेका थिए ।
लकडाउनका कारण खाद्यान्न संकटमा परेका सन्थाल १०, राजवंशी २, क्षत्रीबाहुन ३ र मुस्लिम समुदायका ४७ गरी अतिविपन्न ६२ घरपरिवारलाई उनले राहत वितरण गरेका हुन् । उनले बिर्तामोडलगायत स्थानका केही दाताबाट सहयोग जुटाएर प्रतिपरिवार २० केजी चामल, आधा केजी चना र आधा लिटर खानेतेल वितरण गरेका थिए । ‘राहत वितरणमा उनी स्थानीयवासीसँग घुलमिल भएनन्,’ स्थानीय तथा रेडक्रस सोसाइटी प्रदेश समितिका कोषाध्यक्ष ओमप्रकाश गौतमले भने, ‘राहत बराबरको पैसा उनले स्थानीय किराना पसलेलाई बुझाए । राहत पाउनेहरूले आफैं आएर पसलबाटै चामल, तेल लिएर गएका थिए ।’
राहत वितरण गरेको भोलिपल्ट वैशाख १० मा उनले दोस्रो पटक आरडीटी परीक्षण गराएका थिए । उक्त रिपोर्ट पनि नेगेटिभ आएको थियो । ‘आरडीटी नेगेटिभ देखिए पनि दिल्लीबाट आएकाले पीसीआरका लागि त्यसै दिन स्वाब लिएर विराटनगर पठाएका थियौं,’ जिल्ला स्वास्थ्यका फोकल पर्सन जीवन चम्लागाईंले भने, ‘तर, रिपोर्ट क्लियर आएन । १३ गते पुन: दोस्रो पटक पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।’
दिल्लीबाट फर्किएपछि उनी होम क्वारेन्टाइनमा बस्दै आएका थिए । श्रीमती र छोराछोरीसहित उनको चार जनाको परिवार छ । आरडीटी रिपोर्ट नेगेटिभ देखिएपछि उनी आसपासको क्षेत्रमा हिँडडुल गरेका थिए । गाउँपालिकाका स्वास्थ्यकर्मीले सोमबारदेखि उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम सुरु गरेको छ । सोमबार बिहान सर्वपक्षीय बैठक बसेर वडा नम्बर ४ सहित आसपास सिल गरेको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । प्रदेश सरकारसँग स्वास्थ्य सामग्री प्राप्त भएपछि पहिलो प्राथमिकतामा परेका स्थानीयको स्वास्थ्य परीक्षण गरिने राजवंशीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।