
एकअर्का विरुद्ध जाहेरी लिएर सरकारी वकिलको कार्यालय काठमाडौं पुगेका नेकपा कार्यकर्ता र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच नाराबाजी भएको छ ।
तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी लिएर जनता समाजवादी पार्टीका नेता कार्यकर्ता तथा आफ्ना नेताहरूलाई निराधार आरोप लगाएको भन्दै साइबर क्राइमको जाहेरी लिएर नेकपा कार्यकर्ता सरकारी वकिलको कार्यालय पुगेका थिए ।

दुईपक्ष आमनेसामने भएपछि एकअर्काविरुद्ध नारावाजीमा उत्रिएका हुन् । प्रहरीले उजुरी लिन अस्वीकार गरेपछि दुवै पक्ष सरकारी वकिलको कार्यालय पुगेका हुन् ।
सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन अस्वीकार गरेको छ ।
पार्टी विभाजन प्रयोजनका लागि प्रधानमन्त्रीको निर्देशनमा सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीको छ ।
बस्नेत, श्रेष्ठ र खनालले भने डा. यादव सहमतिमै काठमाडौं आएको बताउँदै आएका छन् ।