२७ असार २०८३, शनिबार

पुनर्निर्माण प्राधिकरणलाई बजेट खर्च गर्नै हम्मे, नौ महिनामा आधा पनि खर्च भएन

कात्तिक २०, २०७४
पुनर्निर्माण प्राधिकरणलाई बजेट खर्च गर्नै हम्मे, नौ महिनामा आधा पनि खर्च भएन

काठमाडौं, ११ वैशाख –राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सरकारले विनियोजन गरेको बजेट खर्च गर्नै हम्मे परेको छ । भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन भन्दै सरकारले विनियोजन गरेको बजेटको आधा रकम खर्च गर्न पनि प्राधिकरणलाई ठूलै सकस देखिएको हो ।

पुनर्निर्माणलाई गति दिन भन्दै सरकारले चालू आर्थिक वर्ष (आव) मा १ खर्ब ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्राधिकरणका अनुसार सरकारले पुनर्निर्माणतिर छुट्याएको उक्त रकममध्ये चालू आवका लागि करीव ७० अर्ब रुपैयाँमात्र निकासा भएको छ । तर, उक्त बजेटको करीव आधा परिमाणमात्र खर्च हुन सकेको छ ।

प्राधिकरणका प्रवक्ता यमलाल भूषालले हालसम्म विनियोजित बजेटको ३४ अर्ब रुपैयाँमात्र खर्च हुन सकेको बताए ।
प्राधिकरणका अनुसार आव २०७२/७३ मा यो वर्षभन्दा पनि कम बजेट खर्च भएको थियो । आव २०७२/७३ मा कुल ७४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये ४ अर्ब रुपैयाँमात्र खर्च हुन सकेको थियो ।

कति घर बने ?
प्राधिकरणका अनुसार भूकम्पप्रभावित ११ जिल्लामा हालसम्म ३ हजार ५ सय ५४ घर निर्माण सम्पन्न भएका छन् । जसमध्ये १८ हजार ६ सय ६३ लाभग्राहीले आफैंले घर निर्माण सम्पन्न गरेका छन् ।

प्राधिकरणका अनुसार भूकम्पप्रभावित १४ जिल्लामा हालसम्म ६ लाख ६६ हजार ९५ लाभग्राही पहिचान भएका छन् । जसमध्ये ५ लाख ६२ हजार २ सय ७८ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।

८३ हजारले पाएनन् अझै पनि पहिलो किस्ता
प्राधिकरणका अनुसार अझै पनि ८३ हजार भूकम्पपीडितले अनुदानबापतको पहिलो किस्ता रकम पाउन सकेका छैनन् । त्यस्तै, दोस्रो किस्ताका भुक्तानीका लागि हालसम्म १४ हजार ५ सय ५७ घरमात्र प्रमाणीकरण गरिएको छ । तेस्रो किस्ताका लागि भने हालसम्म ७ सय ८ घरमात्र प्रमाणीकरण भएका प्राधिकरणको भनाई छ ।

सरकारले भूकम्पप्रभावित १४ जिल्लामा पहिलो, दोस्रो र तेस्रो किस्ताबापत क्रम्शः ५० हजार, साढे १ लाख र ५० हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो ।

त्यस्तै, भूकम्पप्रभावित बाँकी १७ जिल्लामा निजी आवास अनुदानका लागि ९० हजार ५ सय ५६ लाभग्राहीहरू पहिचान भई अनुदान सम्झौताको काम अघि बढेको प्राधिकरणले जनाएको छ ।

भूकम्पबाट क्षतिगस्त पुरातात्विक सम्पदामध्ये हालसम्म प्राधिकरणले १८ सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ । भूकम्पबाट मुलुकभर ७ सय ५० सम्पदा क्षतिग्रस्त भएका थिए ।

त्यस्तै, पुनर्निर्माण गर्नुपर्ने ७ हजार ९ सय २३ विद्यालयमध्ये हालसम्म १ हजार १ सय ४९ विद्यालयको निर्माण सम्पन्न भएको र एक हजार ५९ विद्यालय निर्माणको चरणमा रहेका प्राधिकरणले जनाएको छ ।

मुलुकभर क्षतिग्रस्त २ सय स्वास्थ्य संस्था, ३ सय ६३ खानेपानी आयोजना र सुरक्षा निकायका ३३ संरचना पुनर्निर्माण सम्पन्न गरेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईआ) डा. गोविन्दराज पोखरेलले आशातित गतिमा पुनर्निर्माणको कामलाई गति दिन नसकेको स्वीकारे । भूकम्प गएको २ वर्ष पुगेको अवसरमा प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सीईओ पोखरेलले दक्ष जनशक्तिको अभाव, कार्यविधिका जटिलता, निर्माण सामग्रीको अभाव लगायतका कारण पुनर्निर्माणको कामले गति लिन नसकेको स्वीकारे ।

salt training

कमेन्ट गर्नुहोस्