
रुसमा विगत एक महिनामा तीनजना चिकित्सकले झ्यालबाट हाम्फालेर आत्महत्याको कोशिश गरिसकेका छन् । कोरोनाभाइरस उपचारमा पर्याप्त सुरक्षा उपकरण नदिइकन आफूहरूलाई खटाइएकोमा पीर मान्दै उनीहरूले आत्महत्याको कोशिश गरेका हुन् ।
३७ वर्षीय चिकित्सक अलेक्जेन्डर शुलेपोभलाई कोभिड–१९ को पोजिटिभ पाइएपछि पनि उपचारमा खटिन भनेपछि झ्यालबाट हाम्फालेका थिए । टाउकोमा गम्भीर चोट लागेकाले उनी अहिले जीवनमरणको संघर्ष गरिरहेका छन् ।
उनी र उनका सहकर्मीहरूले भोरोनेझ शहरमा व्यक्तिगत सुरक्षा उपकरणको अभावको गुनासो गरिरहेका छन् । पछि अस्पतालको शय्यामा पल्टिएर उनले दोस्रो भिडियो बनाउँदै आफूलाई दबाब दिइएको भन्ने हल्लाको खण्डन गरे ।
यसअघि दुईजना वरिष्ठ महिला चिकित्सकहरू अस्पतालको झ्यालबाट हाम्फालेर ज्यान गुमाइसकेका छन् । उनीहरूले कोरोनाभाइरस रोगीका लागि व्यक्तिगत सुरक्षा उपकरणको अभाव रहेको विषयमा आफ्ना हाकिमहरूसँग विवाद गरेका थिए ।
शुलेपोभका साथी अलेक्जेन्डर कोस्याकिनले व्यक्तिगत सुरक्षा उपकरणको अभावका विषयमा गुनासो गरेपछि झूटो खबर फैलाएको आरोपमा प्रहरीले बोलाएको थियो ।
अस्पतालका प्रमुखहरूले कोस्याकिनको आरोप झूटो भएको बताएपनि शुलेपोभलाई सुरक्षा उपकरणकै अभावमा संक्रमण लागेको अन्य चिकित्सकहरूको विश्वास छ ।