
लकडाउन भएको ३९ औं दिनमा गत शुक्रवार ५ नम्बर प्रदेशमा पहिलो कोरोना भाइरस संक्रमण (कोभिड–१९) का २ जना संक्रमित भेटिए । १ जना रूपन्देहीको कोटहीमाई गाउँपालिका र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका थिए ।
रुपन्देहीका संक्रमित लकडाउनको समयमा वैशाख ५ गते लुकीछिपी चोरबाटोबाट गाउँ भित्रिएका थिए भने नेपालगञ्ज डीएसपी रोड महेन्द्र्र पार्कका ६० वर्षीय पुरुष क्वारेन्टाइनबाट भागेका व्यक्ति हुन् ।
महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट ६०० जना भागेका थिए । संक्रमित पुरुष पनि तिनैमध्येका एक रहेको जनाइएको छ । तर त्यसपछि लकडाउनको समयमा उनी भारत गएर आएका हुन् कि हैनन् ? उनीसँग सोधखोज गर्दा केही नबताएको जिल्ला प्रशासन कार्यालय बाँके बताउँछ ।
मस्जिद र मदरसामा कोरोना जाँच गर्दा अन्सारी मस्जिदका मौलाना ६० वर्षीय व्यक्तिमा कोरोना देखिएको थियो । संक्रमित व्यक्ति नेपालगञ्ज–७ का वासिन्दा हुन् । उनी हरेक दिन वडा नम्बर ८ को मस्जिदमा पुग्ने गर्थे ।
जब ती संक्रमित व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरेर ६० जनाको परीक्षण गर्दा नेपालगञ्जको एउटै टोलका १५ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. विनोद गिरी बताउँछन् ।
‘ती पहिलो संक्रमित व्यक्तिले मस्जिदमा उर्दु भाषा र घरघरमा गएर सिकाउँदा रहेछन् । भारतबाट पनि उनीसँग उर्दु सिक्न मानिसहरू आउने गरेको पाइयो,’ डा. गिरीले भने, ‘ती लकडाउनको बीचमा भारत गएका थिए/थिएनन् ? भारतबाट पनि त्यो बीचमा अन्य व्यक्ति आएका थिए कि थिएनन् ? अझै खुल्न सकेको छैन । उनले सम्पर्क गरेका क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ गर्दा १५ जनाको पोजेटिभ देखिएपछि उनको सम्पर्कबाटै अरुलाई कोरोना सरेको बुझ्न सकिन्छ ।’
लकडाउनकै समयमा मस्जिदमा गएर नमाज पढ्ने र घरघरमा ट्यूसन पढाउन जाँदा कोरोना संक्रमण फैलिएको प्रदेश सरकारको ठम्याइ छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस्तो बेलामा मस्जिदमा नजान सबैलाई सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । नेपालगञ्जका संक्रमित सबै एउटै टोलका वासिन्दा हुन् । संक्रमित भेटिएको टोल र पार्क क्षेत्र शिल गरिएको छ ।
संक्रमित सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराना क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पताललाई प्रदेश सरकारले कोरोना विशेष अस्पतालको रुपमा विकास गरेको छ । आइतवार संकलन गरिएका स्वाबमध्ये अझै ३० जनाको रिपोर्ट आउन बाँकी छ । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डन डा. प्रकाश थापाले पहिलो संक्रमितबाट अन्यमा संक्रमण भएको कन्ट्याक्ट ट्रेसिङबाट देखिएको बताए ।
हालसम्मै कम उमेरको व्यक्तिमा कोरोना
नेपालगञ्जमा नेपालमा कोरोना संक्रमित भएकामध्ये सबैभन्दा कम उमेरका बच्चामा कोरोना देखिएको छ । आइतवार संक्रमण पुष्टि भएकामध्ये १ जना बालिका ७ वर्षीया छन् । संक्रमितमध्ये ७ देखि ५८ वर्ष उमेरका छन् ।
सबै क्षेत्रमा प्रशासनको कडाइ
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा कोरोनाका बिरामी बढेसँगै सबै क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ पारेको छ । सीमानाका र अन्य क्षेत्रमा आवतजावतमा विशेष निगरानी समेत बढाएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पहिलो संक्रमित फेला पर्ने वित्तिकै स्थानीय क्षेत्र शिल गरिएको बताए ।
‘पहिलो संक्रमित व्यक्ति फेला पर्ने वित्तिकै हामीले सर्तकता अपनाएका थियो । अन्य १५ जना थपिएसँग उनीहरूको सम्पर्कमा को–को आएका थिए । तिनीहरूको खोजी भइरहेको छ,’ उनले भने ।
पीसीआर जाँच बढाउनुको विकल्प छैन : मेयर राणा
नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशम्शेर राणाले कोरोना भाइरसका बिरामी बढेसँगै बाँकेका सबै क्षेत्रमा त्रास बढेको बताए । उनले पीसीआरबाट जाँच गर्दा बिरामीहरू धमाधम भेटिएको भन्दै टेस्टको मात्रा अझै बढाउनुपर्ने बताए ।
‘लकडाउनलाई कडाइ गरिएको छ । मानिसहरूमा त्रास बढ्दो छ । अब जाँचको मात्र बढाउँदै अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने । प्रहरी, जिल्ला प्रशासन र प्रदेश सरकारसँग समन्वय गरी नेपालगञ्ज उपमहानगरपालिका अगाडि बढेको उनले स्पष्ट पारे ।
सामाजिक विकास मन्त्री सहितको टोली नेपालगञ्जमा
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल सहितको टोली संक्रमित क्षेत्रको अवस्था बुझ्न नेपालगञ्ज पुगेको छ । त्यहाँ परीक्षणका लागि आवश्यक किट, चिकित्सकका सुरक्षाका सामग्रीको कुनै पनि अभाव हुन नदिने सरकारले बताएको छ ।
बाँकेमा कोरोना जाँच गर्ने अस्पताल छ । अस्पताललाई जाँचको भेरिफाइ गर्ने अधिकार पनि दिइएको छ । तराईका ६ जिल्ला भारतसँग जोडिएको प्रदेशको कोरोना संक्रमणको खतरा उच्च छ । भारतबाट लुकीछिपी आउने क्रम पनि रोकिएको छैन ।