
काठमाडौं उपत्यकामा आजबाट एम्बुलेन्स, स्वास्थ्यकर्मी र खाद्यान्नका सवारीबाहेक अन्य सबैखाले सवारी सञ्चालनमा कडाइका साथ रोक लगाइने भएको छ ।
तराईका जिल्लाहरूमा पछिल्लो समय संक्रमितको संख्या बढेको र ती जिल्लाबाट काठमाडौं भित्रिने क्रम शुरू भएसँगै सरकारले लकडाउनमा कडाइ गर्न थालेको हो । हिजो मात्र नेपालमा कोरोनाभाइरस (कोभिड १९)का १६ संक्रमित भेटिएका थिए, ती मध्ये १५ जना नेपालगञ्जका मात्र थिए ।
बाहिर संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यका सुरक्षित ठानेर मानिसहरू भित्रिन थालेपछि उपत्यकामा एम्बुलेन्स, स्वास्थ्यकर्मी र अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई आउन नदिएको महानगरीय प्रहरी कार्यलय रानीपोखरीकी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।
‘हामीले आजदेखि उपत्यका भित्रने मानिसहरूलाई कडाइ गरेका छौं । उपत्यमाभित्र एम्बुलेन्स अत्यावश्यक सामानका गाडी र स्वास्थ्यकर्मीबाहेक अन्य कुनैलाई पनि भित्रिन दिएका छैनौं,’ एसएसपी बज्राचार्यले लोकान्तरसँग भनिन् ।
उपत्यका बाहिरबाट मानिसहरू भित्रिएको गुनासो आएपछि काठमाडौं उपत्यकामा पनि आजदेखि आवतजावतमा कडाइ गरिएको छ । लकडाउन कार्यान्वयनमा शून्य सहनशीलता अपनाइएको प्रवक्ता बज्राचार्यले बताइन् ।
यदि कसैले जबरजस्ती गर्न खोजेमा कानूनबमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।
कोभिड १९ संक्रमितको संख्या एक्कासि बढेपछि देशैभर लकडाउनमा कडाइ गरिनुका साथै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाहीले बताए ।
‘कोरोनाको संक्रमण देखिन थालेपछि नेपालगञ्जलाई अहिले सिल गरेको अवस्था छ, यसका साथै देशैभरि उच्चशर्तकता अपनाइएको छ,’ प्रवक्ता शाहीले भने, ‘स्थानीय प्रशासनसँग मिलेर देशैभर कोरोनाप्रभावित क्षेत्रमा नेपाल प्रहरीले काम गरिरखेको छ ।’
हिजो गृह मन्त्रालयले कारागार, विकास निर्माण आयोजना लगायतका महत्त्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने निर्णय गरेका थियो ।
‘सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानूनी कारवाही गर्नुपर्ने निष्कर्ष निकाल्दै भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने’ निर्णय गृहमन्त्रालयले गरेका थियो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना संक्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एशियातर्फ बढ्न लागेको भन्दै भारतसँग खुला सीमा रहेका कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए ।
सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई उनले निर्देशन समेत दिएका छन् ।