१६ असार २०८३, मंगलबार

१० दिनपछि सञ्चालनमा आयो भरतपुर कोरोना प्रयोगशाला

बैशाख २८, २०७७
१० दिनपछि सञ्चालनमा आयो भरतपुर कोरोना प्रयोगशाला

कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू भएको हो ।
 
कीटको अभावमा विगत १० दिनयता प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन । यहाँको नमूना हेटौँडा र काठमाडौँ पठाइँदै आएको थियो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिलेको किटले एक हजार ३०० भन्दा बढीको नमूना परीक्षण गर्न सकिने छ ।
 
एकैपटक यति धेरै किट पठाएको यो पहिलोपटक हो । गत चैत २४ गतेबाट परीक्षण शुरू गरेको प्रयोगशालाका लागि शुरूमा जम्मा ३८४ थान किट पठाएको थियो । त्यसपछि बीचमा १०० थान किट पठाए पनि दुई दिनमै सकिएपछि प्रयोगशाला बन्द भएको थियो ।

यस प्रयोगशालामा दैनिक ४० जनाको हाराहारीमा पिसीआर परीक्षणका लागि नमूना सङ्कलन हुने गरेको छ । विगतका दिनहरुजस्तै नमूना सङ्कलन भएमा एक महिनालाई किट पुग्ने पौडेलले बताए । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले किट आएसँगै नमूना परीक्षणको समस्या हटेको बताए। यो प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछिको उत्कृष्ट मानिएको छ ।
 
जान चाहाने भारतीयलाई घर फर्काइँदै

भारत घर भइ हाल नेपालमा रहेर भारत जान चाहने भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय चितवनले घर पठाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर चितवन जिल्लाभित्र रहेका घर जान चाहने भारतीयलाई परिचयपत्रसहित नाम टिपाउन आग्रह गरेको छ ।
 
भारत जान चाहनेले आफ्नो देशको परिचयपत्रको नम्बरसहित मोबाइल नम्बर, भारतको ठेगाना, हाल चितवनमा बसेको ठेगाना र नेपालको कुन नाकाबाट पार गर्नुपर्ने हो ती सबै विवरण खुलाएर आज दिनको ३ बजेसम्म प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

भारत फर्कन चाहने व्यक्तिले जिल्ला प्रशासन कार्यालय चितवनको इमेल [email protected] वा मोबाइल नम्बर ९८५५०१७७७७, ९८५११५९५१४,९८४१०४३६३४ र ९८४५३३१०३६ मा म्यासेज गर्न सकिने सूचनामा उल्लेख गरेको छ । जिल्लामा भारत घर भएका नागरिकको सङ्ख्या के–कति छ र कति जान चाहन्छन् भन्ने वास्तविक तथ्याङ्क स्थानीय प्रशासनसँग नभएकाले सार्वजनिक आह्वान गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्