
उदयपुरको भुल्के र बाँकेको नेपालगञ्जलाई बिर्साउने गरी कपिलवस्तु कोरोनाको इपिसेन्टर बन्ने खतरा देखिएको छ । बिहीवार दुई जना शनिवार ३ जनामा गरी ५ जना संक्रमण पुष्टि भएको कपिलवस्तुमा सोमवार बिहान जिल्लाका दुई स्थानीय तहमा गरी १० जना कोरोना संक्रमित भेटिएका छन् ।
उनीहरु सबै लुकिछिपी भारतबाट कपिलवस्तु प्रवेश गरेका हुन् । उनीहरु सबै भारतको मुम्बईबाट आएका बताइएको छ । कपिलवस्तुका प्रहरी प्रमुख दीपशमसेर राणाले संक्रमणको दर अझै बढी भेटिने खतरा बढदै गएको बताए ।
‘शनिबार यहाँबाट ३ सय जनाको थ्रोट स्वाब पठाएका थियौ । तीमध्ये केहीको जाँच गर्दा आइतवार थप १० जनाको कोभिड—१९ पोजेटिभ देखियो । अझै जाँच गर्न धेरै नमूना बाँकी छ । यसले अझै संक्रमित बढ्दै जाने देखिन्छ,’ राणाले लोकान्तरसँग भने ।
जिल्लाको यशोधरा गाउँपालिकाबाट ६२ बुद्धभूमि नगरपालिबाट १२० र कपिलवस्तु नगरपालिकाका १ सय जनाको स्वाब संकलन गरी काठमाडौं टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
संक्रमित १० जना मध्ये ८ जना यशोधरा गाउँपालिका वडा ५ का र २ जना बुद्धभूमि नगरपालिका वडा नम्बर १ र १० का रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । संक्रमण पुष्टि भएकाहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर खुलेको छैन ।
यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयले भारतबाट लुकिछिपी आएका ति युवाहरुलाई गाउँपालिकाले निर्माण गरेको पशुपति शिक्षा मन्दिर र अनिरुद्ध माविको विद्यालयको क्वारेन्टाइनमा राखिएको बताए ।
उनले भने, ‘भारतको मुम्बई लगायतका विभिन्न सहरमा रोजगारीका लागि गएका उनीहरु १०/१२ दिन अगाडि गाउँ छिरेको थाहा पाएपछि प्रहरी प्रशासनको रोहबरमा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।’
गाउँपालिकाबाट ६२ जनाको स्वाब संकलन गरी पठाइएको थियो । कपिलवस्तुमा मात्रै कोरोना संक्रमितको संख्या १५ पुगेको छ भने, प्रदेश पाँचमा ४० जना पुगेका छन । बाँकेमा २४ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका मध्ये १ सय २५ जनाको स्वाव परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
संक्रमितको अवस्था सामान्य छ । कोरोनाका बिरामी धमाधम भेटिन थालेपछि जिल्लामा त्रास बढेको छ । जिल्लाका विभिन्न नाकामा अझै १६ नेपाली अलपत्र अवस्थामा छन । उनीहरुलाई जिल्ला प्रवेश गर्न दिइएको छैन ।
प्रवेश नपाएपछि उनीहरु रातको समयमा प्रहरीको आँखा छलेर आउने गर्छन । जसले गर्दा कोरोनाको जोखिम तराईका जिल्लाहरुमा उच्च देखिएको छ । सीमामा उच्च सर्तकता बढाइएको बताए पनि नेपाल छिर्ने क्रम रोकिएको छैन ।