
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ग्यास उपलब्ध हुन छोडेको छ । कर्णाली प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीले ग्यास सिलिण्डर ल्याउन र लैजान नदिएपछि खाना पकाउने ग्यास सकिएको हो ।
वैशाख २२ गतेभन्दा अगाडि निर्वाध रुपमा ग्यास आयात भइरहेपनि प्रदेश सरकारले नाका नै सील गर्ने नाममा खाना पकाउने एलपीजी ग्यास सिलिण्डर ल्याउन र लैजान नदिइएपछि ग्यास सकिएको बताइएको छ ।
कर्णाली प्रदेशभरि नै ‘बोटलिङ प्लान्ट’ नभएका कारण खाली सिलिण्डर भर्न सकिएको छैन । कर्णाली ग्यास सिलिण्डरका लागि प्रदेश नम्बर ५ र सुदुरपश्चिम प्रदेशसँग निर्भर छ ।
‘सरकारका मन्त्रीहरुसँग त पर्याप्त मात्रामा ग्यास सिलिण्डर होला । हामीसँग भएको एक सिलिण्डर सकियो । भर्न जाँदा आज ग्यास डिलरले ग्यास नै छैन भनेर रित्तै फर्कायो,’ वीरेन्द्रनगर देखि शनिहल लाइनसम्म अटो रिक्सामा ग्यास सिलिण्डर राखेर ल्याएका रमेश सुनारले भने, ‘ग्यास नहुँदा अब साँझदेखि के मा खाना पकाएर खाने हो थाहा छैन । जंगल जाँउ दाउरा ल्याउन पाँइदैन, समस्या भयो ।’
राजधानीमा नै ग्यास सिलिण्डर अभाव भएपछि स्थानीयबासी आक्रोशित भएका छन् ।
‘कम्तिमा ग्यास सिलिण्डर त ल्याउन दिनु नि ? ग्यास नभए नागरिक के मा खाना पकाएर खान्छन ?’ वीरेन्द्रनगर ७ कि रिता भण्डारीले लोकान्तरसँग कुरा गर्दै भनिन्, ‘सरकारले नाका सील गर्नु कोरोनबाट जोगिन उपयुक्त भएपनि आवश्यक प्रक्रिया पुर्याएर भएपनि सिलिण्डर आयात र निर्यात गर्न दिइनुपर्थ्यो । हुन त सरकारका मन्त्रीसँग पर्याप्त सिलिण्डर भएका कारण उनीहरुलाई आपत नपरेको होला । त्यसैले खाना पकाउने जस्तो ग्यासमा कडाइ गरे होलान् ।’
उनले सरकार जनताका लागि भएको आभास नभएको बताइन् । ‘हुनेखानेका लागि मात्रै कर्णालीमा सरकार रहेका छन् । हुँदा खानेका लागि सरकार नै छैनन् भनेर किन भन्न नमिल्ने ? खाना पकाउने ग्यासमा नै प्रतिबन्ध लाग्छ भने हाम्रा लागि सरकार कहाँ छ खोइ सरकार ?’ आक्रोशित हुँदै उनले प्रश्न गरिन् ।
सरकारले नाकाबन्दीको नाउँमा जनजीवन नै प्रभावित पार्ने काम गर्न नहुने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता मोहन बडुवाल बताउँछन् । ‘कोरोना त्रासकाबीच नाकाबन्द गर्नु राम्रो कुरा हो,’ उनले भने, ‘ग्यास जस्तो कुरालाई अत्यावश्यक सूचिबाट हटाए जसरी आयात गर्नै नदिने काम राम्रो होइन । सरकारले यसमा पुर्नविचार गरोस् ।’
यता, नेपाल आयल निगम लिमिटेड सुर्खेतका प्रमुख दीपकप्रसाद घिमिरेले भोली मंगलबारबाट ग्यास कुनै पनि डिलरमा पाउन नसकिने बताए ।
‘आज बढीमा एक सय सिलिण्डर थिए बिहानसम्म, सायद सकियो होला,’ उनले भने, ‘सरकारले वैशाख २३ गतेदेखि ग्यास सिलिण्डर ल्याउन र खाली सिलिण्डर लैजान नदिएका कारण ग्यास अभाव भएको हो । अन्य पेट्रोलियम पदार्थ ढुवानीमा कुनै पनि समस्या छैन ।’
उनका अनुसार खाना पकाउने ग्यास अन्य प्रदेशबाट नै बोटलिङ भएर कर्णाली आउने गरेका छन् । मनकामना र भेरी बाँकेबाट, रेडियन्ट धनगढीबाट र राप्ती ग्यास दाङबाट ल्याउने गरिन्छ ।
घिमिरेले भने, ‘आज बिहानसम्म राप्ती ग्यास ३२ वटा स्टक रहेको थियो । ८ सय ५० सिलिण्डरसहितको गाडी कणाृली आउन नदिइएका कारण दांगको अमेलियामा रोकिएको छ । रेडियन्ट ग्यासको गाडी धनगढीमा कर्णाली आउन तयार भएर बसेको छ, मनकामना ग्यासको गाडी लोड भएर नेपालगञ्जमा छ, बिहानसम्म १ सय ३५ सिलिण्डर थियो । भेरी ग्याससँग ११ वटा मात्र बचेको छ, पाँच हजार सिलिण्डर ल्याउन खोजेपनि सरकारका कारण रोकिएको छ ।’
उनले अहिले कर्णालीमा दैनिक कम्तिमा एक हजार ग्यास सिलिण्डर आवश्यक पर्ने गरेको बताए ।
‘१० लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल अहिलेसम्म बिक्री भएको छ,’ उनले भने, ‘हवाई इन्धन ५० हजार लिटर मौज्दात रहेको छ ।’
तेल भण्डारण कक्ष कर्णालीमा नरहेको बताउँदै प्रमुख घिमिरेले विभिन्न आयल स्टोरको तथ्यांकमा आधारित विवरण रहेको र तेल भने अभाव नभएको बताए ।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले ग्यास सिलिण्डिर ल्याउने वातावरण बनाइने बताइन् । ‘एक साता हामीले केही पनि ल्याउन दिएनौं,’ उनले भनिन्, ‘अब केहि खुकुलो पार्दै अत्यावश्यक वस्तुहरु आयात गर्न दिन्छौं । भोकले नागरिक तथा जीवजनावर कोही पनि नमरुन् भन्ने हाम्रो उदेश्य हो । मुख्यमन्त्री जुम्लाबाट फर्किएपछि यसका बारेमा आवश्यक निर्णय हुन्छ ।’