
कोरोना महामारी फैलिने त्रासका कारण नेपाल-भारतबीचको सीमा पूर्ण रूपमा बन्द गरिएपनि कपिलवस्तुमा सुरक्षाकर्मीको आँखा छलेर प्रत्येक रात २० जनाको हाराहारीमा भारतबाट नेपाल भित्रिरहेका छन् ।
सुस्ता नाकामा नेपाल आउन पर्खिरहेका २ हजार भन्दा धेरै नेपाली रातिराति लुकेर नेपाल भित्रिने गरेका हुन् । उनीहरूमध्ये १५/२० जना रातिको समयमा प्रहरीको आँखा छल्दै नेपाल आउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपशमसेर जबराले बताए ।
‘नाकाबाट हरेक दिन नेपाल भित्रिने १५ देखि २० जना मानिसलाई हामीले पक्राउ गरेका छौं,’ एसपी जबराले लोकान्तरलाई बताए ।
प्रहरीले ती व्यक्तिहरूलाई स्थानीयको सहयोगमा पक्राउ गर्ने गरेको छ । एसपी जबराले अहिलेसम्म लगभग ३ सय जनालाई पक्राउ गरी क्वारेन्टाइनमा राखिएको जानकारी दिए । स्वारेन्टानइनमा रहेका ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो ।
सोमवार फेला परेका नयाँ १० संक्रमितहरू तीनै ३ सय मध्येका थिए ।
प्रहरीले दैनिक १५/२० जनालाई समातेर क्वारेन्टाइन पठाउने गरेपनि आँखा छलेर चुपचाप नेपाल भित्रिनेहरूको संख्या त्यो भन्दा धेरै रहेको हुनसक्ने अनुमान गरिएको छ ।
सोमवार कपिलवस्तुमा थप १० जना कोरोना संक्रमित देखिएपछि सीमा नाकामा उच्च सर्तकता अपनाइएको छ । मानिसहरू रातिमा लुकिछिपी आउने भएकाले त्यो रोक्न उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख (सिडीओ) दीर्घनारायण पौडलले बताए ।
‘अहिले हामीले उच्च सर्तकता अपनाएका छौं,’ पौडेलले भने, ‘सीमापारि अहिले पनि नेपाल भित्रिन खोज्ने २१ सय जना नेपाली रहेको उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सुरक्षा समितिमा छलफल भइरहेको छ ।’
लुकेर नेपाल भित्रिएका मानिस र उनीहरूको आफन्तको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम भइरहेको प्रमुख पौडेलको दाबी छ ।