
संसारका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । डरलाग्दो कुरा चाहिँ दुवै देशका राष्ट्रवादीहरूसँग तनाव चर्काउनका लागि आआफ्नै कारण विद्यमान छन् ।
कोरोनाभाइरस संकटका विषयमा अपमान र आरोपहरू बढ्दै जाँदा संसारको सबभन्दा महत्त्वपूर्ण सम्बन्ध निकै ओरालो लागेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले महाव्याधि रोक्न विफल भएपछि चीनलाई बलिको बोको बनाइरहेका छन् ।
बेइजिङ चाहिँ देशभित्रको असन्तुष्टिबाट ध्यान मोड्नका लागि अमेरिकासँग जोरी खोजिरहेको छ र अमेरिकाले कोरोनाभाइरस व्यवस्थापनमा देखाएको लाचारीका कारण आफ्नो राजनीतिक प्रणाली श्रेष्ठ रहेको प्रचारबाजी गर्दैछ ।
तर राजनीतिक भिडन्तले कमजोर बनेको भूराजनीतिक सन्तुलनमा अपूरणीय क्षति पुर्याउने सम्भावना छ । त्यससँगै ताइवान वा दक्षिण चीन समुद्र लगायतका स्थानमा गलत निर्णय लिँदा युद्ध भड्किने सम्भावना छ ।
यससँगै २१औं शताब्दीलाई नै परिभाषित गर्ने गरी अमेरिका र चीनबीच शीतयुद्धको सम्भावना रहेको भनी तात्तातो बहस हुन थालेको छ ।
तर दोस्रो विश्वयुद्धपछि आणविक शक्तिसम्पन्न दुई मुलुक अमेरिका र सोभियत रुसबीचको शीतयुद्ध अहिले अमेरिका र चीनबीचको द्वन्द्वसँग तुलना गर्न मिल्दैन । अबको भिडन्त विचारधारामा भन्दा पनि प्रविधि, उत्पादन, व्यापार, भौतिक संरचना र कृत्रिम बौद्धिकता, विदेशी बजार, सैन्य श्रेष्डता तथा एसियामा रणनीतिक प्रभुत्वमा सक्रिय प्रतिस्पर्धामा केन्द्रित हुनेछ ।
वाशिङटनले विगत ५० वर्षदेखि चीनलाई शान्तिपूर्ण रूपमा महाशक्ति बनाउनका लागि काम गर्ने नीति लिएको थियो । तर ट्रम्पले चीनसँग भिडन्तको बाटो अपनाएका छन् । पुरानो नीतिका कारण अमेरिकी प्रभुत्वमा खतरनाक जोखिम आइलागेको तर्क उनले गरेका छन् ।
आफ्नो शक्तिमा गर्व गर्दै चीनले पश्चिमी मुलुकहरूको नियम नअपनाउने नीति अंगीकार गरेको छ । पश्चिमका ती नियमहरूलाई चीनले साम्राज्यावादका दृष्टिमा हेर्ने गरेको छ ।
‘दुवै पक्ष भिडन्तमा जान चाहन्छन् जस्तो मलाई लाग्दैन,’ सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजका जुड ब्लान्चेट भन्छन् । ‘आफूहरू शक्तिशाली रहेको थाहा पाएर नै यो भिडन्तको स्थिति बनिरहेको हो जस्तो मलाई लाग्छ । त्यो नौलो कुरा हो ।’
सीएनएनबाट