
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक जना १८ वर्षीय कोरोना संक्रमित युवा प्रहरीको सम्पर्कमा आएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको थियो ।
करीब २० दिन अघि चितवनबाट पैदलै हिंडेर सप्तरी आइपुगेका ती युवा केही दिन क्वारेन्टाइन बसेर घर गएका थिए । उनको संकलित स्वाब परीक्षण गर्दा सोमवार कोरोना पुष्टि भएको थियो ।
घरमै बसिरहेका उनी कोरोना पुष्टि भएपछि फरार भएको आशंका गरिएको थियो । स्वाब रिपोर्ट पोजिटिभ आएपछि उनलाई खोज्दै उनको घर पुगेका प्रहरी रित्तो हात फर्केका थिए ।
सोमवार अपराह्न उनी प्रहरीको सम्पर्कमा आएका थिए ।
उनलाई एम्बुलेन्समा राखेर गजेन्द्रनारायण अस्पताल राजविराज लैजाने तयारी भइरहेको छ । उनका परिवारका सदस्यहरूलाई पनि आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।