१३ असार २०८३, शनिबार

बजेट प्राथमिकीकरण गर्न सुझाव

बैशाख ३०, २०७७
बजेट प्राथमिकीकरण गर्न सुझाव

आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९)ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले सरकारद्वारा प्रस्तुत प्राथमिकता सामयिक नभएको भन्दै प्राथमिकीकरण गर्न सुझाव दिएका हुन् ।

परम्परागत ढङ्गको बजेटले कोरोनाको असर सम्बोधन गर्न नसक्ने भन्दै सामयिक बनाउन सुझाव दिइएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हाललाई सङ्क्षिप्त बजेट ल्याएर कोरोना प्रभावको अध्ययनपछि पूरक अनुमान पेस गर्न पनि सुझाव दिएको छ ।

छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद ओनसरी घर्तीले स्वास्थ्य र शिक्षा क्षेत्रमा हालको अवस्थालाई यथास्थितिमा राखेर समाजवादको यात्रा तय नहुने बताउनुभयो । कोरोनाले पारेको असरलाई सम्बोधन गर्ने गरी बजेट तय गर्न उहाँले सुझाव दिनुभयो । यस्तै, नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले कोरोनाको प्रभावमा नै बजेट केन्द्रित हुनुपर्ने बताए।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद एकवाल मियाँले कोरोना जोखिम न्यूनीकरणमा नै बजेट केन्द्रित हुनुपर्ने बताए । त्यस्तै समाजवादी पार्टीका सांसद सरिता गिरीले कोरोनाले पारेको असरलाई अध्ययन गरेर बजेट केन्द्रित गर्नुपर्ने बताए।

नेकपाकै सांसद जनार्दन शर्माले बजेटलाई कोरोना प्रभावको असर न्यूनीकरणका लागि केन्द्रित हुनुपर्ने बताए। कृषि क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट व्यवस्था गर्न सुझाव दिँदै उहाँले हरेक स्थानीय सरकार आत्मनिर्भर बनाउन आफ्नो गाउँ आत्मनिर्भर बन(ाऔँ भन्ने कार्यक्रम ल्याउनुपर्ने शर्माको सुझाव छ ।

काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू पुरानै अवधारणाबाट सिद्धान्त र प्राथमिकता आएको बताए। पूर्ण बजेटभन्दा पूरक अनुमान गर्ने गरी सङ्क्षिप्त बजेट ल्याउन सुझाव दिँदै उनले भने, ‘‘सिद्धान्त र प्राथमिकता पुरानै अवधारणा र ढङ्गबाट आएको छ । योपटक कोरोना महामारीलाई केन्द्रमा राखेर आउनुपर्छ ।” छलफलमा सोमबार करिब ५० जना सांसदले भाग लिनुभएको थियो । मङ्गलबार पनि छलफल जारी रहने छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्