
खाद्यान्न ढुुुवानी पास लिएर कपडा ढुुुवानी गर्ने ट्रक प्रहरीको फन्दामा परेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा खाद्यान्न ढुवानी भन्दै कपडा ढुवानी गरिरहेको अवस्थामा बिहीवार बिहान सुखड प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार वीरगञ्जदेखि कैलालीसम्मका लागि फेन्सी तथा लत्ताकपडा ढुवानी गरिरहेको ना६ख ४३५१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको छ ।
सुखडमा रहेको ट्राफिक चेकपोस्टमा सोधपुछ गरी इन्ट्री गर्दा सवारी चालकले खाद्यान्न भएको बताएका थिए तर ट्रकमा कपडाका थान भेटिएको थियो । खाद्यान्न ढुवानी भन्दै कपडा ढुवानी गरिरहेको अवस्थामा ट्रकलाइ नियन्त्रणमा लिएर राखिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक बस्नेतले खाद्यान्नसँगै कपडा ढुवानी गर्ने ट्रकलाई नियन्त्रणपछि छोडिएको र कपडालाई उद्योग वाणिज्य संघ सुखडको जिम्मा लगाइएको जनाए ।