
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि नियमानुसार राजस्व तिरी प्रक्रिया अगाडि बढाउँदा काममा आलटाल गरी सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा पक्राउ परेका उनीविरुद्ध मुद्दा चलाइएको हो।
यसैगरी आयोगले भ्रष्टाचारसम्बन्धी मुद्धामा प्रतिकूल बकपत्र गरी आयोगलाई असहयोग गरेको अभियोगमा बल्थली खानेपानी उपभोक्ता समितिका तत्कालीन अध्यक्ष चेतनाथ भारतीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनले समितिको अध्यक्ष हुँदा समितिको नाममा निकास भएको रकमको काम सम्पन्न भई बिल पास गरिदिएबापत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई घुस दिएको उजुरी आफैँले दिएको र सोही प्रकरणको सुनुवाइका क्रममा उनै भारतीले उजुरी व्यहोराविपरित बकपत्र दिएको आयोगले जनाएको छ। उक्त अनियमितताको मुख्य अभियुक्त इन्जिनिर खनाललाई निजले घुस लिई भ्रष्टाचार गरेको अभियोगबाट छुटकारा गराउने उद्देश्यले प्रतिकूल बकपत्र गरी असहयोग गरेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए।
आयोगले नेपालमा दर्ता नै नभएका भारतीय कम्पनीबाट उत्पादित औषधि र औषधिजन्य पदार्थको आयातका लागि सिफारिस गरी आयातसमेत गराई भ्रष्टाचार गरेको आरोपमा पशु स्वास्थ्य चिकित्सालय त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक डा बलराम थापाविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ। निजले आफू तथा औषधि व्यवसायीलाई अनुचित लाभ लिन आफ्नो ओहदा, अधिकार र हैसियत दाबी गर्दै नेपालमा दर्ता नभएको कम्पनीबाट ती औषधि आयातका लागि सिफारिस गरेको आयोगले आरोप लगाएको छ।