
प्रदेश ५ का जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि यहाँको सरकारले कोरोना विशेष अस्पतालमा बेड थप्ने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषदको बिहीबारको बैठकले कोरोना विशेष अस्पतालको क्षमता बढाउने निर्णय गरेको हो। बुटवलको कोरोना बिशेष अस्पतालमा २ सय बेड थपिने भएको छ, भने भैरहवाको भीम अस्पतालमा १ सय बेड थपिनेछ।
बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने,बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने निर्णय समेत बैठकले गरेको छ।
विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने र रोल्पामा बम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैयाँका दरले राहत दिने निर्णय प्रदेश सरकारले गरेको छ।